चितवन,
नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनको आयोजनामा आयोजित आर्थिक वर्ष २०८०-०८१ मा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा समिति तथा भातृ संगठनहरूकाे उच्च कार्य मुल्यांकन गर्दै ६ वटा मगर संगठनलाई आज नेपाल मगर संघको भवन पोखरा बसपार्कमा एक कार्यक्रम गरि सम्मान गरेको छ।

कार्यक्रममा नेपाल मगर संघ चितवन जिल्ला अन्तर्गत रहेको ५२ वटा वडा समिति बाट उत्कृष्ट कार्यसम्पादन गर्दै क्रमश प्रथम स्थान चन्द्र एकता मगर मगर समाज क्षेत्रपुर,द्वितीय स्थान भरतपुर महानगर पालिका २० वडा सारदनगर मगर समाज र तृतीय स्थान भरतपुर महानगर पालिका वडा नम्बर ९ सरदपुर ज्ञानोदय मगर समाज भएको छ। यस्तै जिल्ला भित्रका ९ वटा भातृ संगठनहरू मध्य उत्कृष्ट कार्यसम्पादन गर्दै प्रथम स्थान नेपाल मगर विद्यार्थी संघ,द्वितीय स्थान नेपाल मगर महिला संघ र तृतीय स्थान नेपाल मगर पत्रकार संघ बन्न सफल भएको छ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ अनुशासन विभागका केन्द्रीय सदस्य काशीमाया रानामगर,विशिष्ट अतिथि नेपाल मगर संघ बागमती प्रदेशका अध्यक्ष मिलन थापामगर लगायत विभिन्न समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो भने नेपाल मगर संघ जिल्ला समन्वय चितवनका अध्यक्ष ठाकुर सिं आलेमगरको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।



