भरतपुर
भरतपुर महानगरपालिका वडा नं–२ मा रहेको बालकुमारी कलेज नारायणगढले बुधबार ३९औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल जगदीश्वर खनालले कलेजलाई नै स्वायत्त विश्वविद्यालय बनाउने योजना रहेको बताए ।
प्रिन्सिपल खनालका अनसार हाल स्नातकोत्तर तहमा एमबिए स्वायत्त कार्यक्रम सञ्चालन भइरहेको छ । उनले अन्य सङ्कायमा पनि स्वायत्त कार्यक्रम थप गरी कलेजलाई नै स्वायत्त विश्वविद्यालय बनाउने योजना रहेको सुनाए । यस विषयमा सञ्चालक समितिमा छलफल प्रक्रिया पनि अघि बढेको उनले बताए ।
बालकुमारी पब्लिक कलेज हो । पब्लिक क्याम्पस वास्तवमा समुदायको आर्थिक सहयोग र व्यवस्थापनबाट चल्छन् । यस्ता कलेजले पुँजीगत खर्चका लागिमात्र सरकारी कोषबाट विश्वविद्यालय अनुदान आयोगमार्फत वित्तीय सहयोग पाउँछन् ।
विद्यार्थीले हासिल गरेको शैक्षिक प्रमाणपत्र विश्वविद्यालयले प्रमाणीकरण गर्छ । विश्वविद्यालयको ऐन नियमभित्र रहनुपर्ने, हरेक कार्यको नियमन र अनुगमन हुने हुँदा ‘प्राइभेट’भन्दा फरक हुन्छन् पब्लिक कलेज । नेपालकै पब्लिक कलेजमध्ये उत्कृष्ट बन्दै आएको बालकुमारी कलेज स्वायत्त विश्वविद्यालय हुन सक्ने शिक्षाविद्हरु बताउँछन् ।
त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार २०६२ सालमा स्वायत्ततासम्बन्धी नियम बनेको हो । विश्वविद्यालय शिक्षा प्रणालीमा आबद्ध क्याम्पसहरुलाई स्वायत्तता दिएर गुणस्तरीय शिक्षामा सुधार ल्याउने उद्देश्यले यो नियम बनाइएको हो ।
शिक्षाविद्हरुले स्वायत्त विश्वविद्यालयको सम्भावना, चुनौती र यसको लक्ष्यबारे समेत उच्च कोटीमा छलफल गरेर अघि बढ्नलाई सुझाव दिएका छन् । शिक्षाविद्हरुका अनुसार योजनाका लागिमात्र योजना बनाएर हुँदैन, गहिरो अध्ययन र चुनौतीको सामना गर्न सक्ने हुनुपर्छ ।
बालकुमारी कलेजमा हाल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कार्यक्रमहरु छन् । सेमेष्टर प्रणालीअन्तर्गत एमबिए, एमबिएस, एमएड, बिबिए, बिएचएम, बिआइएम, बिआइसिटिईलगायतका कार्यक्रमहरु छन् । यस्तै, वार्षिक प्रणालीअन्तर्गत बिबिएस, बिएड, बिएस्सी माइक्रो बायोलोजी, बिएस्सी इन्भायरोमेन्टल साइन्स कार्यक्रम सञ्चालन भइरहेको छ ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुखअतिथि कलेजका संस्थापक कोषाध्यक्ष केएल भूषण थिए । उनले २०४३ साल असोज २ गते स्थापना भएको कलेज स्थापनादेखि हालसम्म मुनाफारहित रहेको बताए । उनले भने, ‘सर्वसुलभ न्यून शुल्कमा गुणस्तरीय शिक्षा पस्केको यस कलेजले आगामी दिनमा अझ फड्को मार्दै जानुपर्ने छ ।’
वार्षिकोत्सवको अध्यक्षता गरेका कलेज सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले भरतपुर–४, यज्ञपुरीमा कलेजको ३ बिघा जग्गामा साइन्स एण्ड टेक्नोलोजीको पढाइका लागि भवन निर्माण गर्न लागिएको र जसका लागि नक्सापास गर्ने प्रक्रिया अगाडि बढेको बताए । उनले भने, ‘थप जग्गा खरिद, थप भवन निर्माण र अन्य संरचना निर्माणका प्रक्रिया पनि अघि बढेका छन् ।’
वार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, बालकुमारी एल्मुनाई एसोसिएसनबाट अशोक लामिछाने, बालकुमारीका अनेरास्ववियु अध्यक्ष रूद्र पौडेल, नेविसंघ सचिव नवराज बोगटीलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा सर्वोत्कृष्ट अङ्क ल्याएका, टियू टपर भएका विद्यार्थीहरुलाई कदरपत्रबाट सम्मान गरिएको थियो । बालकुमारीमा हाल २२ सय विद्यार्थी अध्ययनरत रहेका छन् र भर्ना हुने प्रक्रिया भइरहेको हुनाले विद्यार्थी संख्या बढ्ने अपेक्षासमेत गरिएको छ ।
यस कलेजले नेपालमै पहिलोपटक २०६६ सालमा क्युएए प्रमाणपत्र प्राप्त गरेको हो । यसले आइएसओ गुणस्तरीय चिह्नसमेत प्राप्त गरेको छ । यस कलेजमा ९० प्राध्यापक र ४९ कर्मचारी रहेका छन् । यस शैक्षिक सत्रमा यहाँका दुई जना प्राध्यापकले एमफिल र ७ जना प्राध्यापकले पिएचडी अध्ययन गरिसकेका छन् ।
सौराहामा सम्मेलन गर्ने
बालकुमारी कलेजले सौराहामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यसै वर्ष कलेजले मङ्सिरमा उच्च शिक्षामा प्रविधिको प्रयोगसम्बन्धी सम्मेलन गर्न लागेको प्रिन्सिपल खनालले बताए ।
#वार्षिकोत्सवको उद्घाटन गर्दै कलेजका संस्थापक कोषाध्यक्ष केएल भूषण ।



