भरतपुरमा ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा

images
  • 134
    SHARES
  • आश्विन ६, २०८१ आइतबार
    भरतपुरमा ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा
    images

    चितवन

    चितवनको भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको शहरी क्षेत्रमा ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

    महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम  ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चौबिसकोठीबाट पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ ।

    सडक सुरक्षाको काम बाँकी रहेको छ । उहाँका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम सकिएको छ । पूरै सडकमा रङरोगन र सडक बत्तीको काम बाँकी रहेको कार्कीले जानकारी दिनुभयो । वर्षाका कारण रङरोगनको काम रोकिएको हो । दुई पटक समय थप गर्दा पनि सडक निर्माणको काम नसकिएपछि पुनःसमय थप गर्न लागिएको कार्कीले बताउनुभयो ।

    झण्डै ७ किलोमिटर लामो सडक विस्तारको लागत एक अर्ब २३ करोड ५० लाख रुपैयाँ रहेको छ । सडक पचास मिटर चौडाइको हुनेछ, लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजनासहित सडक निर्माण शुरु गरिएको हो ।

    महानगरपालिका मेयर रेनु दाहालले स्मार्टलाइट र वृक्षरोपणको काम भइरहेको बताउनुभयो । सडकमा वृक्षरोपणका लागि महानगरपालिकाले ९५ लाख रुपैयाँको ठेक्का आह्वान गरिसकेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend