काठमाडौं, असोज ७-
अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ । अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर नरेशनको लोकेशन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुगल सर्च वारेन्ट’ पठाएका हुन् ।
मनसास पार्क प्रहरीले जुलाई २७ देखि अगस्ट २१ सम्मको विवरण मागेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । नरेश पक्षका वकिलले ममता जीवितै रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका थिए ।
त्यसमाथि अदालतमा भएको सुनुवाइका क्रममा अभियोजक पक्षले गुगलसँग विस्तृत विवरण मागिएको जानकारी गराएका थिए । ममता हराएको केही समयपछि नरेशनले आफ्नो टेस्ला कार पनि विक्री गरेका थिए । प्रहरीले त्यसको क्यामरा फुटेज र कारबाट पनि जीपीएस लोकेशन डाटा निकाल्ने प्रयास गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुले ममताको हत्या भइसकेको हुनसक्ने आशंका गरेका छन् ।
तर, हालसम्म फेला नपरेकाले नरेशविरुद्ध शरीर लुकाएको अभियोग मात्र लगाइएको छ । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।



