उपचार खर्च अभावमा गयो बालिकाको ज्यान

images
  • 210
    SHARES
  • आश्विन ९, २०८१ बुधबार
    उपचार खर्च अभावमा गयो बालिकाको ज्यान
    images

    भरतपुर

    राप्ती नगरपालिका वडा नं–१२, पर्खालका आमोस चेपाङले यतिबेला जसोतसो आफूलाई सम्हालेका छन् । काठमाडौँको ठाउँमा न त सम्हाल्दिने आफन्त कोही छन्, न त साथीभाइ नै पर्याप्त छन् ।

    दुई आँखा आँसुको डुबुल्कीमा छन् । घुँक्क घुँक्क, कयौँ दिनको अनिँदो रात, त्यसमाथि मुनाजस्ती छोरी गुमाउँदाको पीडा । मंगलबार बिहान चार बजे आमोसले छोरीको मृत्युको खबर जब सुने त्यसपछि लगातार भक्कानिए । पीडाको ठूलो भारी बोकेर आमोसले आफूलाई समाल्दै छोरीको मृत शरीर शिक्षण अस्पताल महाराजगञ्जबाट निकाले र चितवन झरे ।

    कस्तो विडम्बना ! उपचार गर्ने खर्च नभएकै कारण आमोसले आफ्नो आठ वर्षकी छोरी सजिना चेपाङलाई गुमाउनुप¥यो । स्थानीय समाजसेवी राप्ती नगरपालिकाका निवर्तमान उपमेयर इमानसिंह लामा आमोसकी छोरी सजिनाको उपचारमा सुरूदेखि खटिएका छन् । उनी आफ्नो निजी गाडीमै राखेर भरतपुरदेखि काठमाडौँसम्म सजिनाको उपचारमा दौडिए, तर सजिनाको सासलाई बचाउन सकेनन् । अन्ततः लास लिएर मंगलबार काठमाडौँबाट चितवन आए ।

    राप्ती–१२, पर्खालका स्थानीय जोयल चेपाङले आमोसकी छोरी सजिना बिरामी परेको खबर गरेपछि लामा उपचारका लागि खटिएका हुन् । उनी भन्छन्, ‘सजिनालाई यही भदौ २७ गते भरतपुर अस्पताल ल्याएर भर्ना गरियो, सम्पूर्ण जाँच गर्दा उनको जन्डिस बिग्रिसकेको पाइयो ।’

    तीन दिनसम्म सजिनाको भरतपुर अस्पतालमा उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले बालिकाको जन्डिस बिग्रिएर कलेजोमा समस्या आइसकेको बताए । भरतपुर अस्पतालले भदौ ३० गते चेपाङ बालिकालाई काठमाडौँ शिक्षण अस्पताल रिफर गरिदियो । ‘त्यसपछि म केही सहयोग रकम उठाएर बिरामी र उसका परिवारलाई बोकेर काठमाडौँ हानिएँ’, लामाले सुनाए ।

    लामाका अनुसार बालिकालाई शिक्षण अस्पताल भर्ना गरेर उपचार सुरू गरेपछि बल्ल थाहा भयो, बालिकाको अवस्था जटिल भइसकेको रहेछ । लामाले भने, ‘एक महिनाअघिदेखि बालिका जन्डिसको सिकार भएकी रहिछन्, यसबीचमा उनले मुख बारेकी पनि रहेनछिन् । जन्डिस बिग्रेर कडा भइसकेको रहेछ, कलेजो खाइसकेको रहेछ ।’

    शिक्षण अस्पतालले तत्काल कलेजो ट्रान्सप्लान्ट गर्न परिवारलाई सल्लाह दियो, जसका लागि ४० लाख रकम तत्काल जम्मा गर्न अस्पतालले परिवारलाई भन्यो ।‘त्यत्रो रकम कहाँबाट जम्मा गर्नु, काठमाडौँसम्म त सहयोगी हातबाट रकम उठाएर आएका थियौँ’, उपचारमा खटिएका लामाले भने, ‘उपचारमा लाग्ने खर्चका रकम सुनेका बालिकाका बुबाआमा त छाँगाबाट खसेजस्तो भए ।’

    ६ महिना मकै र ६ महिना गिठ्ठा–भ्याकुर खाएर पालिने परिवारसँग ४० लाख कहाँबाट हुनु ! रूवावासी चलेको लामा बताउँछन् । उनी भन्छन्, ‘३५ हजारजति त भरतपुर अस्पतालमा खर्च भइसकेको थियो, खर्चको जोहो गरेर काठमाडौँ गएका थियौँ, त्यति ठूलो रकम जम्मा गर्ने हैसियत नै परिवारमा थिएन ।’

    लामाले काठमाडौँमा नै सहयोग रकम उठाउन थाले । सामाजिक सञ्जालमा भिडियो हालेर रकम मागे । परिवारको कहानी सुनाए । ‘झन्डै तीन लाख त उठ्यो, तर ४० लाखको अगाडि तीन लाखको केही अर्थ भएन, हात्तीको मुखमा जिराजस्तो भयो’, लामाले भने, ‘उपचारको क्रममा म धेरै सरकारी निकायहरु धाएँ । स्वास्थ्य सचिवदेखि स्वास्थ्यमन्त्री प्रदीप पौडेलसम्मलाई भेटेँ, सांसद्सँग हारगुहार गरेँ, तर कतैबाट उपचारका लागि रकम जोहो हुन सकेन ।’

    स्वास्थ्यमन्त्री पौडेलको भनाइलाई उद्धृत गर्दै लामाले भने, ‘उपचारका लागि राज्यको कोषबाट सीधै रकम दिन मिल्ने कानुन नै नभएको स्वास्थ्यमन्त्रीले भने ।’ उनी भन्छन्, ‘कस्तो दुःखद, उपचार गर्ने पैसा नभएरै लोपोन्मुख जाति चेपाङकी कलिली बालिकाले ज्यान गुमाउनु परेको छ ।’ सजिना कक्षा २ मा पढ्दै थिइन् ।

    परिवारका अनुसार चिकित्सकहरुले कलेजो प्रत्यारोपण गरे एक हप्तामै सजिनालाई डिस्चार्ज गर्न सक्ने बताएका थिए, तर रकम अभावले प्रत्यारोपण गर्न सक्ने अवस्था नै भएन । ‘विभिन्न जाँचको क्रममा उनको बुबाको कलेजो प्रत्यारोपण गर्न मिल्ने कुरा चिकित्सकहरुले बताए, बुबा कलेजो दिन मञ्जुर पनि हुनुहुन्थ्यो, तर उपचार गर्ने रकमको जोहो नै हुन सकेन’, लामाले भने । उनी उपचारमा सात दिनसम्म काठमाडौँमै बसेका थिए ।

    अन्ततः मंगलबार बिहानै सजिनाले संसार छोडिन्, त्यसपछि परिवारले अत्येष्टिका लागि चितवन लैजाने मनस्थिति बनायो । राप्ती नगरपालिका वडा नं–१२ घरनजिकै सजिनाको अत्येष्टि गरिने परिवारले बताएका छन् । महँगो उपचार खर्चका कारण विपन्न नागरिकहरु ऋणको दुष्चक्रमा फस्ने र घरखेत जानेमात्र होइन, धेरैको उपचार खर्च अभावमै अकालमै ज्यान गइरहेको समाजसेवी लामा बताउँछन् । चर्को शुल्क धान्न नसकेकै कारण स्वास्थ्यसेवाबाट कयौँ वञ्चित छन् भने थुप्रैले ज्यानको माया मारिरहेका छन् ।

    ‘आमोस चेपाङ परिवारमा परेको यो दुःखद घटना समग्र विपन्न चेपाङ परिवारको पीडा हो’, राप्ती नगरपालिकाका निवर्तमान उपमेयर लामाले भने, ‘विपन्न चेपाङ परिवारहरुले उपचार गर्ने रकम नभएकै कारण आफ्ना सदस्यहरु गुमाइरहेका छन् ।’


    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend