पाटन, असोज २०-
गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उहाँले हेलिकप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिनुभएको हो ।
नागरिकले खुला आकास मुनि बस्न नपरोस् भन्नुहुँदै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउनुहुँदैन भन्नुभयो । “एकद्वार प्रणालीबाट राहात वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस्”, गृहमन्त्रीले भन्नुभयो ।
उहाँले अहिलेको संविधान कानुनले चार तहको संरचना तय गरेको भन्नुहुँदै चारवटै विपद् व्यवस्थापनका संयन्त्रहरु जोडिएर मिलेर काम गर्नुपर्छ भन्नेमा जोड दिनुभयो । “विपद्मा सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै तहको विपद् व्यवस्थापन समिति मिलेर काम गर्नुपर्छ, मानिसको आवागमन खोल्ने कुरा महत्त्वपूर्ण हुन्छ, मानिस बिरामी भएको ठाउँमा चिकित्सक पु¥याउन पनि गाह्रो छ”, उहाँले भन्नुभयो, “जसरी भएपनि अहिले सडक खुलाउने काम गर्नुस्, जनशक्ति र साधन थपेर भएपछि टीकाभैरबको पुल सञ्चालन ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर रु ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको बताउनुभयो । उहाँले तथ्याङ्क उपलब्ध भएको तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले विपद् क्षेत्र घोषणा भएका स्थानीय तहलाई सडक मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले धरापमा भएका घरहरुलाई मर्मतका लागि तत्कालै ध्यान दिन आग्रह गर्नुभयो । ललितपुर क्षेत्र नं २ का सङ्घीय संसद प्रेमबहादुर महर्जनले भौतिक क्षतिको विवरण खोज्न मिहिन ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवीय संवेदना बुझेर काम गर्न राज्यले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
बागमती प्रदेशका स्वास्थमन्त्री रामेश्वर श्रेष्ठले शुद्ध पिउने पानी र सञ्चार क्षेत्रमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले राहत वितरणलाई प्रभावकारी बनाउन पनि जोड दिनुभयो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाभित्र प्राकृतिक विपद्मा परी छ जनाको मृत्यु भएको जानकारी गराउनुहुँदै विपद् व्यवस्थापनमा आवश्यकता अनुसार प्रत्येक वडाले तत्कालै व्यवस्थापन गर्न सक्नेगरी बजेट व्यवस्थापन गरेको बताउनुभयो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पालिकाभित्र २० जनाको मानवीय क्षति, एक सय आठ वटा सरकारी संरचनामा क्षति र ५५ वटा खानेपानी योजनामा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले नल्लु र बासुकीको खानेपानी तत्कालै सञ्चालन गर्नुपर्ने भन्दै २७ वटा कल्भर्ट, तीन वटा पूल, २० वटा सडकखण्ड र दुई सय १६ घरमा क्षति पुगेको बताउनुभयो । उहाँले वटा नं. ७ देबिचौरमा हालसम्म विद्युत् र टेलिफोन सेवा पुग्न नसकेको जानकारी गराउनुभयो ।
महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठले पालिकाभित्र सात जना मृत्युु भएको बताउनुभयो । उहाँले वडा नं ९ मा खानेपानीको समस्या रहेको, वडा नं। १० सम्म जाने सडक मर्मत भैरहेको र प्रभावित क्षेत्रमा लागत सङ्कलन भैरहेको जानकारी गराउनुभयो । महालक्ष्मी नगरपालिकाका वडा नं.१, ५ र ७ बढि प्रभावित भएको उहाँले जानकारी गराउनुभयो ।
कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विपद्का कारण गाउँपालिकाभित्र खानेपानीको पाइपमा पूर्ण रुपमा क्षति भएकाले सञ्चार सम्बन्ध टुटेको जानकारी गराउनुभयो । उहाँले पालिकाभित्र एक सय ५० घर पूर्ण रुपमा क्षति भएको, नल्लु र भारदेउका बस्ती बगरमा परिणत भएको बताउनुभयो । उहाँले दुई वटा सामुदायिक र एउटा निजी विद्यालयमा क्षति भएको बताउँदै सबैभन्दा पहिलो बाटो सञ्चालनमा ल्याइ विद्युत् र सञ्चारलाई व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, नेपाली कांग्रेसका जिल्ला सचिव राजनप्रसाद घिमिरेलगायतले विपद्ले निम्त्याएको समस्या र समाधानबारे जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले घरमै पुगेर राहत वितरणका काम गरिरहेका जानकारी दिँदै अस्थायी आवास निर्माणका लागि स्थानीय तहलाई जिम्मा दिन सक्ने बताउनुभयो । उहाँले ललितपुरमा हालसम्म पनि छ जना बेपत्ता रहेको बताउनुभयो । रासस



