डडेल्धुरा,असोज ३०
डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो।
बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जनाए ।
दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ। पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु , २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए। दुर्घटनामा अन्य ११ जना पनि घाइते छन्। बस सडकबाट झण्डै तीन सय मिटर खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन। दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशंकमा प्रहरीले खोजी कार्य जारी राखेको छ। स्थानीय सर्वसधारण र प्रहरी खोजी जारी राखेका छन् ।





