कञ्चनपुर
औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन–अनुसन्धानको काम शुरु भएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा अनुसन्धान शुरु गरेको हो ।
डेल्टामेथ्रिन,अल्फासाइपरमेथ्रिन र लैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हुँदै आएको छ । तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो । उहाँका अनुसार सङ्कलन गरिएका लामखुट्टेलाई प्रयोगशालामा लगेर परीक्षण गरिन्छ ।
अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिनाविषादी जस्ताको तस्तै ट्युबमा राखेर अध्ययन गरिने उहाँको भनाइ छ । विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विष्लेशण गरी विषादीले काम गरे/नगरेको निर्क्याैल गरिने अधिकृत जोशीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका–९ बाट अध्ययन शुरु गरिएको छ ।



