चितवन,कात्तिक ३-
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै माओवादी पार्टीबाट अलग भएकाहरू एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको निर्वाचनमा प्राप्त गरेकै जस्तो जनमत प्राप्त गर्न सकिने बताएका छन् ।
चितवनमा शनिबार आयोजित कार्यक्रममा चन्दले माओवादीबाट अलग भएका दलहरू एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि अघि बढ्नुपर्ने बताएका हुन् । महासचिव चन्दले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भूलभुलैयामा पार्न खोजेपनि त्यो सम्भव नभएको बताए । देशमा आफूहरूले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने उनको भनाइ थियो । ‘आजको दिनमा हामीले बुझने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन, यो एकताबद्ध हुन्छ ।
यो एकताबद्ध भयो भने २०६४ साल जन्मिन्छ । हामीले राम्रोसँग बुझ्नुपर्दछ । २०६४ साल होइन, २०५२ साल भन्नुभएन । २०५२ साल त अहिले नभनौं, तर २०६४ साल जन्मिन्छ नेपालमा । तर उस्तै प्रकारले होइन, उस्तै इतिहास दोहोरिँदैन । इतिहास एउटा चर्कोबाट गुज्रिन्छ । इतिहास आउँछ, फर्केर आउँछ । यो कुरा जनताले कहिल्यै पनि भुल्ने छैनन्,ु चन्दले भने, केही मान्छेले भ्रम छोडेका छन् । संस्कृतिको नाममा, गुटको नाममा, च्याउ जस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेहरूले देशलाई भुलभुलैयामा पार्न खोजेका छन् ।



