काठमाडौं,कात्तिक ६
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही जिल्लामा पठाएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले सोमबार रुपन्देही पठाइएसँगै रवि लामिछानेको मुद्दा पनि के हुन्छ भन्ने चासो बढेको छ ।
यदि उजुरी छ वा उजुरी नपरे पनि अनुसन्धानमा देखियो भने हरेक स्थानबाट अनुसन्धानको माग हुन सक्ने जनाइएको छ । त्यस्तो अवस्थामा पोखराबाट रिहा भए पनि लामिछानेलाई सहकारीको रकम अपचलनको आरोप लागेका अन्य जिल्ला प्रहरी कार्यालयले आफ्नो हिरासतमा लिन सक्नेछ । प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘उनीविरुद्ध सङ्गठित अपराधमा समेत अनुसन्धान भइरहेको छ ।
त्यसको अर्थ उनलाई प्रहरीले अदालतबाट म्याद थप गर्दै तीन महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । छविलाल जोशी जस्तै रविलाई पनि अरू जिल्लामा लगेर अनुसन्धान हुन सक्छ ।’तीमध्ये बुटवलको सुप्रिम सहकारी संस्थाको बचत अपचलनमा २८ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।
कतिपय भने कास्की प्रहरीले अनुसन्धान सकेर अदालतमा पेस गरेपछि न्यायालयले रविलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्ने बताउँछन् । त्यसअघि नै अदालतले उनलाई छ दिन हिरासतमा राख्न दिइएको म्याद सकिएपछि थप समय हिरासतमा राख्ने वा नराख्ने विषयमा पनि निर्णय गर्न बाँकी छ ।
यसबारे प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले अनुसन्धानकै क्रममा रहेको विषय भएका कारण प्रहरीले अहिले नै थप जिल्लामा उनलाई लैजाने वा नलैजाने भन्न नसकिने बताए । उनले भने, ‘अहिले सहकारीबाट गोरखा मिडियामा आएको रकम अपचलनबारे अनुसन्धानका लागि कास्की लगिएको हो । आवश्यकता र उजुरीका हिसाबले अघि बढ्ने बताए ।’



