काठमाण्डाै
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउमा प्रदर्शन गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता/कार्यकर्ताले आजदेखि काठमाण्डौ केन्द्रित आन्दोलन थालेका छन् ।
उनीहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन् । लामिछानेलाई काठमाण्डौमा पक्राउ गरेर पोखरा पुर्याएकै दिनदेखि पोखरामा प्रदर्शन गर्दै आएका रास्वपाका नेता/कार्यकर्ताले आजदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन शुरू गरेका हुन् । पक्राउ परेको दोस्रो दिन पनि काठमाण्डौमा प्रदर्शन भएको थियो ।
आजको विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरूसम्म सहभागी भएका छन् । आजदेखि काठमाण्डौमा आन्दोलन निरन्तर रहने रास्वपाका नेताहरूले बताएका छन् । आज उनीहरूले सरकारविरोधी पर्चा पम्प्लेट बोकेर नारा लगाए । सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान गर्ने गरी हिजो जिल्ला अदालत कास्कीले थप सात दिनको समय दिएको छ ।



