काठमाण्डाै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ ले अतिथिलाई सरकारी खर्चबाट फूल, माला, खादा नकिन्ने भएको छ ।

वडा नम्बर १ को कार्यालयले सूचना निकालेर वडामा हुने सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष, सभाध्यक्ष तथा प्रमुख अतिथि रहने कार्यक्रमहरुमा कुनै पनि अतिथिलाई सरकारी खर्चमा खादा, माला नलगाउने जनाएको छ ।
खादा र मालामा धेरै रकम खर्च हुने गरेको र वास्तविक खर्चभन्दा धेरैको बिल समेत बनाएको पाइएकाले वडाको खर्चमा फूलमाला र खादा नकिन्ने निर्णय गरिएको वडाअध्यक्ष उत्तरदेव भट्टले जानकारी दिनुभयो ।
‘सबै पुरानै ढाँचाबाट चल्नुपर्छ भन्ने छैन, हजारौँ रुपैयाँका खादा, माला किनेर अनुत्पादक क्षेत्रमा खर्च हुने र बढी रकमको बिल बुझाएर अनियमितता गर्ने क्रम रोकियोस् भनेर यस्तो निर्णय गरेका हौँ’' भट्टले भन्नुभयो ।
यस्तै वडाले कार्यक्रममा सभाध्यक्ष र प्रमुख अतिथिबाहेक अरुलाई आसन ग्रहण नगराउने भएको छ ।
‘आसन ग्रहण गराउँदा सभाध्यक्ष र प्रमुख अतिथिको आसन ग्रहणपछि उपस्थित सबैलाई एकमुष्ट आसन ग्रहण गर्ने विधि बसालेर कार्यक्रम विषय लक्षित र समयको महत्त्वलाई आत्मसाथ गरेर सञ्चालन गरिनेछ ’ सूचनामा भनिएको छ ।



