वालिङ (स्याङ्जा),कात्तिक २२
यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गर्नुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल हुनुभएको हो ।
पेसाले कृषि प्राविधिक अध्ययन गर्नुभएका रामचन्द्रले फूलमा प्राविधिक पक्ष र बजारीकरणमा बुवालाई सघाउँदै आउनुभएको छ ।“फूलका बोटबाट अझै उत्पादन लिन सकिन्छ” रामचन्द्रले भन्नुभयो, “अब उत्पादन हुनेमध्येको केही फूलको माग भईआएको र केही स्थानीयस्तरमा हुने विवाह, व्रतबन्ध, पूजाआजालगायतका धार्मिक तथा मेला महोत्सवहरुमा खपत हुने छ ।”
दसँैं तिहारको अवधिमा फूलको ब्यापारबाट झण्डै रु पाँच लाख आम्दानी भएको र अब बिक्री हुने फूलबाट झण्डै दुई लाख आम्दानी लिन सकिने दाबी रामचन्द्रको छ ।बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पकोरुपमा फूलखेती थाल्नुभएको हो । खेतबारीमा लगाएको अन्नबाली बाँदरले सखाप पारेपछि विकल्पकोरुपमा फूल खेती गर्नुभएका भण्डारीले यसवर्षदेखि सयपत्री फूलको ब्यावसायिक उत्पादन थाल्नुभएको हो ।
“विगतमा मकै, गेडागुडी, मौसमी तथा बेमौसमी तरकारीसहितका अन्नबाली उत्पादन गर्दै आएका थियौँ” उहाँले भन्नुभयो, “पछिल्ला वर्षमा बाँदरले अन्नबाली सखापै पार्न थालेपछि अन्नबाली लगाउन छाडेर विकल्पकोरुपमा फूल खेती थालेका हौंँ ।”दसँैं, तिहारलाई लक्षित गरेर दुई हजार बिरुवा सयपत्री फूल रोप्नुभएको थियो । रासस



