मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि

images
  • 182
    SHARES
  • मंसिर ३, २०८१ सोमबार
    मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि
    images

    ठुलीभेरी (डोल्पा), मङ्सिर ३

    आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गर्नुभएको छ । उहाँ लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।

    ठुलीभेरी नगरपालिका-३ दुनै बजारकी थापाले भन्नुभयो, “मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जीन्दगी यस्तै जान्छ कि भन्ने लागेको थियो । उपचारका लागि नेपालगञ्ज जान पनि समस्या थियो, नजिकै उपचारको व्यवस्था थिएन ।”जिल्ला अस्पतालले गरेको आँखाको निःशुल्क शल्यक्रिया शिविर उहाँका लागि बरदान बनेर आयो ।

    जिल्ला अस्पताल डोल्पामा गत कात्तिक २६ र २७ गते सञ्चालन भएको शिविरबाट लाभान्वित हुनुभएकी उहाँले सुनाउनुभयो,“हल्ला सुनेपछि अस्पताल गएर सोधेँ, डाक्टरले यतै शिविर बस्दैछ भन्नुभयो । शिविर बस्यो, आँखाको शल्यक्रिया भयो, खर्च बच्यो । त्योभन्दा बढी छर्लङ्ग देख्न थालेपछि नयाँ जुनी पाएकी छु ।”उहाँ मात्रै होइन शिविरबाट अन्य ३१ जनाले पनि आँखाको ज्योति पाएका छन् ।

    आँखाको निःशुल्क शल्यक्रिया भएपछि काइके गाउँपालिका(५ बस्ने ६० वर्षीया पेम्बा लामु रोकाया र ठूलीभेरी नगरपालिका–८ बस्ने ५१ वर्षीया कृष्णचन्द शाही पनि निकै खुुसी हुनुहुन्छ । “गाउँबाट टाढा गएर उपचार गर्न जान समस्या छ ।

    आर्थिक जोहो गर्न पनि सकिदैन तर आफ्नै जिल्लामा निःशुल्क उपचार पायौँ । त्यसैमा हामीलाई त डाक्टरसापले रु पाँच/पाँच हजार पनि दिनुभयो । योभन्दा अरु खुसी के होला”, दुवै जनाले एकैस्वरमा भन्नुभयो । आँखा विशेषज्ञ डा ज्ञानेन्द्र लामिछानेले आर्थिक रूपमा विपन्न रोकाया र शाहीलाई आर्थिक सहयोग गर्नुभएको हो ।

    नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम लुम्बिनी, नेत्रज्योति संस्थान तथा रिसर्च सेन्टर र श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आर्थिक तथा प्रविधिक सहयोगमा निःशुल्क आँखा मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो ।

    जिल्ला अस्पतालका नेत्र सहायक अमृत कठायतले जिल्लाका विभिन्न स्थानमा मोतिविन्दुका बिरामी छनोट शिविर सञ्चालन गरी शल्यक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो । आर्थिक रूपले विपन्न नागरिकको जिल्लामै मोतिविन्दुको निःशुल्क शल्यक्रिया गर्न सहजीकरण गरिएको उहाँले बताउनुभयो । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend