गोरखा, मङ्सिर ५-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) गोरखाले सदरमुकाममा आज आयोजना गरेको एक कार्यक्रममा उहाँले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्त्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताउनुभयो ।
तेस्रो पटक सरकार रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध इतिहासमै पहिलोपटक रेर्कड हुने किसिमले भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया माओवादीको नेतृत्वको सरकारले गरेको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक न्याय चाहे नागरिकताको विषय होस्, चाहे मिटरब्याजीको समस्या समाधानको विषय होस्, चाहे सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपाली युवाहरू र देशभित्रका पनि श्रमिकलाई आबद्ध गर्ने कुरा होस् त्यो हाम्रो नेतृत्वको सरकारले गर्यो ।”
माओवादी आफ्नो वर्गसँग जोडिनुपर्ने सवालमा केही कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष दाहलले अब फेरि जनतासँग जोडिएर देश, जनता र लोकतन्त्रकाविरुद्ध हुने सबैखालका षडयन्त्रलाई चुनौती दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस



