सिमकोट, मंसिर २१-
हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन् ।
सिमकोट–३ र ४ तथा उत्तरी नाम्खा गाउँपालिकामा एक दशक अघिसम्म प्रत्येकका घरघरमा भेडापालन गरिँदै आएको थियो । पछिल्लो समय यो व्यवसाय कमैले गरेको पाइन्छ ।
वर्षाको समयमा छिमेकी मुलुक चीनको ताक्लाकोट पुगेर यहाँको फापर, उवा, गहुँ, जौलगायतको अन्न नूनसँग साट्ने गरिन्थ्यो । ताक्लाकोटबाट नून ल्याएर हुम्लाकै दक्षिणी भेगका रोडिकोट, दार्मा सर्केगाड, पिप्लाङ, उनापानी, रिप राहदेवलगायतका गाउँमा पुगेर चामल, सिमिलगायतका अन्नसँग साँटासाँट गरिन्थ्यो । तर अहिले यी सबै चलन हराउँदै गएका छन् । रासस



