वीरगञ्ज (पर्सा),मङ्सिर २४
भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ ।
यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उहाँ महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आउनुभएको हो ।अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । “केही समयअघि गढीमाईको भाकल गरेका थियौँ ।
माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ”दर्शनार्थी यादवले भन्नुभयो, “परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरुको उल्लेख्य मात्रामा हुनुहुन्छ ।” बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताउनुभयो । “दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरुको उपस्थित भइरहनुभएको छ”, उहाँले भन्नुभयो, “पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।”
दश हजारभन्दा बढी राँगाबलि
आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ । आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ ।रासस



