तनहुँ ।
देवघाट गाउँपालिकाले बिहीबार आर्थिक वर्ष २०८१÷८२ को प्रथम चौमासिकअन्तर्गतको सार्वजनिक सुनुवाइ गरेको छ । वडा नं.४ को कार्यालय परिसरमा सार्वजनिक सुनुवाइ गरिएको हो । उक्त कार्यक्रममा देवघाटवासीले जनताको मर्म बुझेर आधारभूत आवश्यकताका कामहरुलाई प्राथमिकतामा राखेर काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

सार्वजनिक सुनुवाइमा किसानले कृषिका कार्यक्रम, युवाले युलालक्षित कार्यक्रम, विपन्नले स्वास्थ्योपचारमा सहुलियतजस्ता विषय उठाएका थिए । वडा नं.४ मा पशु प्राविधिक नहुँदा पशुपालनमा जोखिम बढ्दै गएको स्थानीय जगबहादुर गुरूङले बताए । आमडाँडा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका गुरूङले कृषि क्षेत्रलाई बलियो बनाउनको लागि कृत्रिम गर्भाधानको व्यवस्था मिलाउन गाउँपालिकाले पहल गर्नुपर्ने माग गरे । 
स्थानीयले तीनतिर तीन ठूला नदीले घेरिएको पालिका भएकोले ती नदीहरुमा पुल निर्माणको लागि गाउँपालिकाले सक्दो पहल गर्नुपर्ने मागसमेत गरेका छन् । सेती, काली र त्रिशूलीको बीचमा पर्ने देवघाटका सबै वडाहरुमा पक्की पुल अभावकै कारण सडक सञ्जालको अवस्था आजसम्म पनि दर्दनाक रहेको अर्का स्थानीय उदयबहादुर भुजेलले बताए ।
‘गत असोज १२ गते आएको बाढीले १७ किलोको झोलुङ्गे पुललाई जीर्ण बनाइदिएको छ । तर, मर्मतसम्भार हुन सकेको छैन,’ उनले भने, ‘देवघाटको वडा नं.५ र ४ का जनता आवतजावत गर्ने मुख्य पुलको मर्मतमा किन ध्यान नदिइएको होला ?’ 
वडा नं.४ को पनि सबै गाउँमा बिजुली बत्ती, खानेपानी, सडकजस्ता पूर्वाधारको व्यवस्था हुन नसकेको भन्दै गाउँपालिकाबाटै यसको पहल गरिनु आवश्यक रहेको सुझाव दिएका थिए । प्रदेश या संघ जताबाट बजेट ल्याउनको लागि पनि स्थानीय सरकारबाटै पहल हुनुपर्ने स्थानीयको भनाइ छ । ‘वाइन टु वाटरको सहयोगमा गाउँमा खानेपानीको धारा त आयो । तर, नियमितरूपमा पानी आउँदैन,’ स्थानीय ओमबहादुर भुजेलले भने, ‘नियमित पानी ल्याउनको लागि बिजुली जोडेर लिफ्टको व्यवस्था गर्नुप¥यो ।’ 
स्थानीय नरबहादुर गुरूङले विकासका कामहरुलाई असार मसान्त नजिकिएपछि मात्रै हतारमा गर्ने वातावरणको अन्त्य गर्नुपर्ने सुझाव दिए । समय भएसम्म विभिन्न बहाना बनाएर बस्ने र आर्थिक वर्ष सकिन लाग्दा हतारहतारमा काम गर्दा त्यसबाट कुनै पनि प्रतिफल प्राप्त गर्न नसकिने उनले बताए । ‘आगामी दिनमा गाउँपालिकाले यस्ता विषयमा बिचार गरियोस्,’ उनले भने ।

गाउँपालिकाले भने हरेक वडामा हुने समस्या बुझ्न र समाधानका उपाय खोज्नको लागि गाउँगाउँमा सार्वजनिक सुनुवाइ गर्दै आएको बताएको छ । स्थानीय सरकारसँग थोरै बजेटमा सिङ्गो पालिकावासीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको भन्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले भने, ‘गाउँगाउँमा जनताको कुरा सुनेपछि आगामी बजेट निर्माणमा आवश्यकता र मह¤व हेरेर काम गर्न सकिन्छ ।’
जनताका असङ्ख्य चाहना एकै कार्यकालमा पूरा गर्न नसकिए पनि कम्तिमा आधारभूत आवश्यकता के हो भन्ने विषयमात्रै बुझ्न सके पनि जनताले राहत महसुस गर्ने उनले बताए ।

वडा नं.४ का स्थानीय राजनैतिक दलका प्रतिनिधि, विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, आमा समूहका अध्यक्ष तथा पदाधिकारीलगायत सरोकारवाला व्यक्ति तथा संस्थाहरुको सहभागिता रहेको कार्यक्रममा गाउँपालिकाबाट अध्यक्ष मगरसहित उपाध्यक्ष भुवनसिं गुरूङ, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, वडा नं.४ का अध्यक्ष मित्रलाल त्हार गुरूङलगायत उपस्थित थिए ।



