भरतपुर
तमू प्ये ल्हु संघ चितवन आफ्नै भवन र क्होइबो धीँ निर्माणका लागि करिब डेढ महिनादेखि अभियानमा जुटेको छ । भवन निर्माणका लागि जग्गा खरिद गर्नुपर्ने हुँदा करिब पौने दुई करोड रूपैयाँ अर्थ सङ्कलनको अभियानमा लागेको हो ।
कात्तिक दोस्रो साता लमजुङको भुजुङ र घलेगाउँबाट अभियान थालेको प्ये ल्हु संघ चितवनले एक हप्तादेखि चितवनमै घरदैलो अभियान चलाएको छ । अभियानकै क्रममा भरतपुर महानगरपालिका वडा नं–४, लङ्कू निवासी जगत गुरूङ र देउमाया गुरूङको परिवारले दुई धुर जग्गा खरिदका लागि पाँच लाख रूपैयाँ सहयोग गरेका छन् ।
भरतपुर–४, यज्ञपुरीस्थित पेन्सन क्याम्पनजिकै बैना गरेको जग्गामा दुई धुर जग्गा गुरूङ परिवारले खरिद गरिदिएको हो । अहिले प्ये ल्हु संघ चितवनको टोली लक्ष्य प्राप्तिका लागि घर–घरमा आफ्नो अभियानबारे प्रचारप्रसारमा जुटेको छ ।कम्तीमा दुई कठ्ठा जमिन खरिदका लागि अर्थ सङ्कलन अभियानमा दौडिएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।
‘हामीलाई चाहिएको भवन हो । भवनका लागि जग्गा चाहियो, त्यसैले पहिले जग्गा खरिद गरेपछि भवन निर्माणमा जुट्ने छौँ’, उनले भने, ‘यस महान् अभियानमा जोडिनका लागि घरदैलोमार्फत आह्वान गर्दै आएका छौँ ।’ अभियानका क्रममा बोल रकम २५ लाखजति सङ्कलन भएको उनले बताए । तर, लक्ष्य प्राप्तिका लागि पौने दुई करोड रकम सङ्कलन आवश्यक पर्ने उनको भनाइ छ ।
‘अभियानमा जोडिनका लागि सक्नेले जग्गा दान दिएर पनि सहयोग गर्न सक्नुहुन्छ’, उनले भने, ‘कोठा निर्माण गर्न चाहनेका लागि पनि बाटो खुला छ । जसलाई जसरी सहयोग गर्न मन छ सोहीअनुसारको सहयोग गरेर हामीसँग सहकार्य गर्न सक्नुहुने छ ।’ जग्गा खरिद गरिसकेपछि पनि निर्माणका लागि आवश्यक सामग्री दिएर जिन्सी सहयोग गर्न पनि सकिने उनको भनाइ छ ।



