घरभित्र निसास्सिएर दुई जनाको ज्यान गयो

images
  • 160
    SHARES
  • पौष ४, २०८१ बिहीबार
    घरभित्र निसास्सिएर दुई जनाको ज्यान गयो
    images

    काठमाण्डाै –

    सुर्खेतको वीरेन्द्रनगरमा घरभित्र निसास्सिएर दुई जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानकाे समावेशी टोलमा घरभित्र सुतिरहेका आमा र छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार ३० वर्षीया देवीसरा थापा घर्ती र उहाँका ६ वर्षीय छोरा रियानको ज्यान गएको हो । उहाँकी ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

    हिजो बेलुका खाना खाएर सुतेको र घटना गएराति भएको प्रहरीको भनाइ छ । घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएको प्रारम्भिक रिपोर्ट आएको डीएसपी विश्वकर्माले जानकारी दिनुभयो ।

    चिसोको बेला कोठामा न्यानो पार्न हावा छिर्न नसक्ने गरी झ्यालढोका बन्द गरी कोइला, हिटर नबाल्न डाक्टरले सल्लाह दिएका छन् । हिटर, कोइला बालेर कोठा तातो बनाउने गर्दा कोठाभित्र अक्सिजनको अभाव हुने र ज्यानै जानेसम्मको जोखिम हुन्छ । कार्बन मनोअक्साइडका कारण निसास्सिएर बेहोस हुने र ज्यानै जाने गर्छ ।

    घरबाहिर निस्किँदा पनि बन्द कोठामा हिटर खोलेर वा कोइला बालेर नछोड्न, झ्याल ढोकाका चरहरूमा बोरा, कपडा राखी चुलो वा विद्युतीय उपकरण नबाल्न डाक्टरको आग्रह छ । जाडोबाट जोगिन तातो र न्यानो कपडा लगाउने, झोलिलो पोषिलो खानेकुरा खानु नै उत्तम हुने विज्ञहरू बताउँछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend