काठमाण्डाै –
चित्लाङ फुटबल क्लबलाई हराउँदै काठमाण्डौको एनआरटी क्लब प्रथम थापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा एनआरटीले काठमाण्डौ जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५–१ गोलले हरायो । एनआरटीको कप्तान अञ्जन विष्टले ह्याट्रिक गरे । अञ्जन प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
यो खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । एनआरटीसँगै इटहरीको राष्ट्रिय जागृति क्लब, सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेका छन् । पहिलो सेमिफाइनलमा भोलि सलहेश र चर्च ब्वाइज खेल्दैछन् ।
झापा–११ फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिता यही पुस ८ गतेसम्म चल्नेछ । विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।



