भरतपुरमा महिला यु-१९ विश्वकप खेल्ने नेपाली टिमको बन्द प्रशिक्षण हुने

images
  • 274
    SHARES
  • पौष ५, २०८१ शुक्रबार
    भरतपुरमा महिला यु-१९ विश्वकप खेल्ने नेपाली टिमको बन्द प्रशिक्षण हुने
    images

    चितवन, पुस ५-

    आगामी जनवरीमा मलेसियामा हुने महिला यु-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिकाले बन्द प्रशिक्षणका लागि भरतपुर-१५ स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदान उपलव्ध गराउने भएपछि विश्वकप खेल्ने नेपाली टिमको बन्द प्रशिक्षण यहाँ हुन लागेको हो ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले बन्द प्रशिक्षणका लागि मैदान उपलब्ध गराइदिन माग गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले पत्र पठाएकोले सोही अनुसार मैदान उपलब्ध गराउन लागिएको नारायणी अनलाइनलाइ जानकारी दिइन् ।प्रमुख दाहालले पुस १० गतेदेखि हुने नेपाली टोलीको बन्द प्रशिक्षणले महिला विश्वकप पनि यहि रंगशालामा गर्न प्रेरणा मिल्ने बताइन् । उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यु-१९ विश्वकपको खेल पनि यहीँ रंगशालामा गराउने गरि महानगरले तयारी गरिरहेको बताइन् ।

    यसका लागि क्यानसङ्ग पहल भइरहेको जानकारी दिइन् । विश्वकपलाई ध्यानमा राख्दै रंगशाला निर्माणको काममा पनि तिव्रता दिइएको उनले बताइन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा नेपाल प्रीमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि प्रशिक्षण गरेको थियो । त्यतिबेलै मैदान खेल्न योग्य बनाइएको थियो । अब महिला टिमको बन्द प्रशिक्षणका लागि भोलिदेखि नै मैदानको थप मर्मतको काम सुरु गरिने भरतपुर महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए ।

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार बन्द प्रशिक्षण शिविर यहीँ पुस १० गतेदेखि २४ गतेसम्म हुनेछ । यहीँ प्रशिक्षणबाट छ्नोट हुने अन्तिम टोली सिधै विश्वकप खेल्न मलेसिया जानेछ । नेपाली टोली अहिले एशिया कप खेल्न मलेसियामा नै छ । फाइनल पुग्न नसकेको नेपाली टोली भोलि नै स्वदेश फर्किदैछ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend