भरतपुर ।
नेपाल मगर विद्यार्थी अक्षयकोषमार्फत नेपाल मगर संघ चितवनको १८औँ अधिवेशनको अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ। नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर तथा संघका केन्द्रीय सहअध्यक्ष गङ्गा खासुमगरको उपस्थितिमा ९३ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो।
अक्षयकोषबाट करिब ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको अक्षयकोषका अध्यक्ष निर्मल हन्चिङ मगरले जानकारी दिए। ४७ वटा प्रारम्भिक इकाइका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको उनले बताए। करिब डेढ दशकअघि स्थापना भएको अक्षयकोष कोषको रकम हाल आठ लाख ५० पुगेको छ।








