भरतपुर ।
नेपाल मगर संघ चितवनले नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगरसहित सात जनालाई सम्मान गरेको छ। संस्थाको ४३औँ वार्षिक साधारण सभा तथा १८औँ जिल्ला अधिवेशनका क्रममा छ वटा संस्थासहित सात जनालाई सम्मान गरिएको हो।
नेपाल मगर संघ चितवनमातहका संस्थाहरुलाई गतिविधिका आधारमा मूल्याङ्कन गरेर सम्मान गरिएको नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए। संस्थागतरूपमा नेपाल मगर विद्यार्थी संघलाई प्रथम स्थानमा राख्दै संघका उपाध्यक्ष एलएफ थापामगर, नेपाल मगर महिला संघलाई द्वितीय स्थानमा राख्दै संस्थाकी अध्यक्ष रूकु रानामगर र नेपाल मगर पत्रकार संघलाई तेस्रो स्थानमा राख्दै बिहानी मिडिया डटकमका अध्यक्षसमेत रहेका मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगरलाई सम्मान गरिएको हो।
यस्तै इकाइ समितितर्फ चन्द्र एकता मगर समाजलाई प्रथम स्थानमा राख्दै अध्यक्ष लालबहादुर थापामगर, शारदानगर मगर समाजलाई द्वितीय स्थानमा राख्दै अध्यक्ष यमबहादुर थापामगर र ज्ञानोदय मगर समाज शरदपुरलाई तेस्रो स्थानमा राख्दै संस्थाका अध्यक्ष टुकबहादुर आलोमगरलाई सम्मान गरिएको हो। प्रशिक्षक चिजकुमार आलेमगरलाई भने वरिष्ठ प्रशिक्षकको रूपमा सम्मान गरिएको नेपाल मगर संघले जनाएको छ। सम्मानित सबैलाई नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले खादा, फेटा र सम्मानपत्रद्वारा सम्मान गरिएको हो।
चितवनमा रहेर मगर समुदाय र संस्कार, संस्कृतिको विषयमा क्रियाशील संस्था तथा व्यक्तिलाई मगर संघले योगदानको कदर गरेको भन्दै केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले खुसी व्यक्त गरे। आगामी दिनमा पनि मगर समुदायको भाषा, भेषभूषा तथा हरेक कृयाकलापमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ।





