काठमाण्डौ –
इन्धन गाडीभन्दा विद्युतीय गाडीको आयात झण्डै दोब्बरले धेरै रहेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा पाँच हजार सात सय वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी आयात भएका छन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्म पाँच हजार सात सय दुई वटा चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएका हुन् । आयातित विद्युतीय गाडीको मुल्य १४ अर्ब १९ करोड रुपैयाँभन्दा धेरै छ । मंसिरमा मात्रै एक हजार चार सय ८५ वटा चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएका तथ्याङ्कले देखाएको छ ।
पाँच महिनामा इन्धनबाट चल्ने गाडीको आयात भने विद्युतीय गाडीको तुलनामा झन्डै आधा मात्रै छ । पाँच महिनामा ५७ सय वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएकोमा इन्धनबाट चल्ने गाडी तीन हजार दुई सय ८५ वटा मात्रै आयात भएका छन् । मंसिरमा जम्मा ३ सय ४२ वटा इन्धन गाडी भित्रिएका छन् ।



