तमू प्ये ल्हु संघले ल्होसार मनाउने 

images
  • 191
    SHARES
  • पौष ९, २०८१ मंगलबार
    तमू प्ये ल्हु संघले ल्होसार मनाउने 
    images


    भरतपुर ।

    तमू प्ये ल्हु संघ चितवनले तमू ल्होसार पर्व मनाउने तयारी थालेको छ । यस वर्षको ल्होसार पुस १३, १४ र १५ गतेका दिन विभिन्न कार्यक्रमसहित मनाउने तयारी गरेको मङ्गलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । पुस १५ गते विशेष दिन भए पनि संघको जिल्ला समितिले १३ गते भरतपुर–१२ नौरङ्गेस्थित क्होइबो परिसरमा कार्यक्रम गर्ने तयारी भएको संघका जिल्ला अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए । 


    गतवर्ष नारायणी नदी किनारमा ल्होसार विशेष कार्यक्रम आयोजना गरेको प्ये ल्हु संघ चितवनले यसवर्ष भने आफ्ना सबै इकाइलाई सहभागी गराउँदै क्होइबो परिसरमा मनाउने योजना बनाएको उनले बताए । ‘यस वर्ष हामी संस्थाको लागि जमिन खरिद गर्ने र खरिदपछि संरचना निर्माणमा जुटेका छौँ,’ उनले भने, ‘त्यसकारण पनि ठूलो खर्च हुने गरी कार्यक्रम गर्ने योजनामा छैनौँ ।’ 
    संस्कृति संरक्षणको लागि पनि पर्व मनाउने काम भने नरोकिने उनको भनाइ छ । ‘ठूलो कार्यक्रम आयोजना गर्दा सोहीअनुसारको खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘त्यसकारण यसवर्ष सकेसम्म कम खर्च हुने गरी कार्यक्रम गर्ने तयारी गरेका छौँ ।’ विशेष गरी सांस्कृतिक कार्यक्रमलाई नै प्राथमिकतामा राखेर कार्यक्रम गरिने आयोजकले जनाएको छ । 


    ‘मौलिक चुड्का नृत्य, बाह्रमासे घाँटु, मारूनीलगायतका मौलिक लोक नृत्य हाम्रा प्राथमिकतामा छन्,’ संघका अध्यक्ष गुरूङले भने, ‘हामीले नयाँ कार्यक्रम गर्नेभन्दा पनि पुरानो संस्कृतिलाई जोगाउने प्रयास गर्ने हो । १४ र १५ गते भने इकाइ समितिहरुमा विशेष कार्यक्रम गरेर ल्होसार मनाइने उनको भनाइ छ । चितवन जिल्लामा २०६० सालमा स्थापना भएको तमू प्ये ल्हु संघको ३३ वटा इकाइ समिति गठन भइसकेका छन् । ती सबै समितिले आ–आफ्नो तरिकाले पर्व मनाइने प्ये ल्हु संघ चितवनले जनाएको छ । 
    गुरूङ समुदायले यसवर्षको पुस १५ को दिनमा गरूड वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरेर ल्होसार पर्व मनाउँदै छन् । हरेक वर्ष वर्ग परिवर्तन हुने दिनलाई नयाँ वर्षको रूपमा लिँदै आएका गुरूङहरुले ल्होसारलाई समुदायकै सबैभन्दा ठूलो सांस्कृतिक पर्वको रूपमा समेत लिने गर्दछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend