काठमाण्डाै –
ललितपुरको च्यासलमा एक युवकमाथि चक्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका तीन जनामध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ ।
सुनसरीको इटहरी घर भई ललितपुरकाे सातदोबाटो बस्दै आएका २३ वर्षीय नयन गुरुङको हत्या गरेकाे आरोपमा पक्राउ परेकामध्ये दार्चुलाका पदमलाल भट्टलाई प्रहरीले रिहा गरेको हो । प्रारम्भिक अनुसन्धानकै क्रममा पदमलालको संलग्नता नखुलेपछि रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले डडेलधुराका २६ वर्षीय हेमराज भट्ट र काभ्रेका जनकबहादुर तामाङलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बेलुका खाना खाएको बिल तिर्ने विषयमा विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इन्जिनियरिङ अध्ययन परीक्षामा पास भएपछि गुरुङले क्याफेमा गएर साथीहरूसँग खुशी साट्दै थिए । गुरुङको टोलीले बिल तिर्ने बेलामा विवाद भएको थियो । त्यही बेला राति सवा ९ बजेतिर उनीमाथि चक्कु प्रहार भएको हो । गम्भीर घाइते भएका गुरुङको उपचारकै क्रममा ज्यान गएको हो ।



