काठमाण्डौ –
मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई हिजो बेलुका नियन्त्रणमा लिइएको छ । चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।
मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट आइतवार राति घर नजिकैको बारीमा ७२ वर्षीया कान्छीमाया रुम्बा मृत फेला पर्नुभएको थियो । बाघले सोमवार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सात वटा बाख्रासमेत मारेको थियो । यी दुई घटनापछि स्थानियवासी त्रसित बनेका थिए ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्लका अनुसार बाघको खोजीका लागि निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेशबाट खटिएको नेपाली सेनाको चार वटा हात्तीसहितको टोली, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली चार जना र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो ।



