काठमाण्डाै –
अमेरिका पठाइदिने भन्दै ठगी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भई चितवनको भरतपुर उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी गाउँपालिका–२ घर भई काठमाण्डौको नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेका छन् ।
कुलबहादुर र राजनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई काठमाण्डौ महानगरपालिका–९ सिनामङ्गलबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।
यस्तै वैदेशिक रोजगारीमा अजरबैजान र यूएई पठाइदिने भन्दै सात लाख ५५ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का २७ वर्षीय आकाश दुलाल रहेका छन् ।



