‘१५औं चितवन महोत्सव’ को तयारी तीव्र

images
  • 83
    SHARES
  • पौष १९, २०८१ शुक्रबार
    ‘१५औं चितवन महोत्सव’ को तयारी तीव्र
    images

    चितवन 

    नारायणी नदी किनारमा जिल्लाकै ठूलो महोत्सवको रुपमा मानिएको ‘चितवन महोत्सव’ यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा १५औँ चितवन महोत्सव हुन गइरहेको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठका अनुसार विगतका महोत्सवबाट प्राप्त अनुभव, प्रदर्शक र अवलोकनकर्ताहरुको अनुरोधलाई मध्यनजर गरी ५ दिन थप गरिएको हो । हरेक दुई वर्षमा हुने महोत्सव यसअघि १० दिनमात्र सञ्चालन ल्याइएको थियो ।

    पत्रकार सम्मेलन बोल्दै अध्यक्ष श्रेष्ठले महोत्सवको तयारी तीव्र गतिमा भएको र यो पटक पर्यटन प्रवर्धनमा जोड दिइएको बताए । चितवन जिल्लालाई विविधता र समृद्धि भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको उनको भनाइ छ ।

    उनले चितवनको पर्यटकीय स्थलहरुसम्म जान र आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेको बताए ।

    करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा सात वटा विशेष स्टल रहने छन् । यस्तैगरी कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसरसहित ४ सय ३० वटा स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ ।

    महोत्सवको मूल संयोजक समेत रहेका श्रेष्ठले यसपटक महंगीलाई मध्यनजर गर्दै प्रवेश शुल्क सर्वसाधारणलाई सय रुपैयाँ र विद्यार्थीहरुलाई सहुलियत दर ५० रुपैयाँ कायम गरिएको जानकारी दिए ।

    उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको मुख्य प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन रहेका छन् । प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि विकास बैंक लि. र नेपाल पर्यटन बोर्ड छन् । मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक र सहप्रायोजकमा ग्रिन मोटर्स प्रालि छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend