देशभर आजदेखि एकै साथ जलपन्छी गणना सुरु हुँदै

images
  • 79
    SHARES
  • पौष २०, २०८१ शनिबार
    देशभर आजदेखि एकै साथ जलपन्छी गणना सुरु हुँदै
    images

    कञ्चनपुर ।

    देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना कार्य गरिँदै आएको छ ।

    जनवरी ४ तारिखदेखि १९ सम्म(पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपन्छीको सङ्ख्या, प्रजाति, वासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणना कार्य हुन लागेको नेपाल पंछीविद संघका वरिष्ठ चरा विद् तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपन्छी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए।

    उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलनकार्य हुनेछ ।

    गत वर्ष कोशिटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपंछी गणना कार्य गरिएको थियो ।

    “यस वर्ष पनि यी क्षेत्रलाई निरन्तरता दिइने लक्ष्य राखेका छौँ” उनले भने, “गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सण्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणना कार्य हुन सकेको छैन, यी ताल र अन्य सम्भावित सिमसार क्षेत्रमा चरा अवलोकनमा जानेको विवरण माग गरेका छौँ इच्छुक जो सुकैले जान सक्छन् ।”

    विगतका वर्षझैँ यस वर्ष पनि तराई, भित्री मधेश, रारा ताल, काठमाडौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपन्छी गणना कार्य गरिने उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend