गुल्मी ।
पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि पेसा छोडेर कफी खेतीमा आकर्षित हुन थालेका छन् । मदाने गाउँपालिका-३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकहरू यति बेला बारीमा मकै र कोदोखेती छोडेर कफीको व्यावसायिक उत्पादन गर्न थालेका हुन् ।
तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूलाई व्यावसायिक रूपमा कफी खेतीप्रति आकर्षित गराउन तालिकासहित कफीको उत्पादन र यसको महत्वबारे जानकारी दिनाका साथै कफी खेती गर्न चाहनेलाई अनुदान उपलब्ध गराएपछि कृषकले परम्परागत खेती छोडेर यसतर्फ आकर्षित भएका सिर्सेनीका कृषक मेघलाल अर्यालले बताए ।
मकै र कोदोजस्ता परम्परागत खेती गर्दै आएका कृषकलाई कफी खेती तुलनात्मक रूपमा सहज भएको उनको भनाइ छ । यहाँका किसानले ‘तीन धारे कफी उत्पादन कृषक समूह’ मार्फत खेती सुरु गरेका अर्यालले बताए । उनका अनुसार चार वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्येक परिवारले व्यावसायिक रूपमा उत्पादन सुरु गरेका हुन् ।
यहाँका कृषकको बगैँचामा ५० देखि दुई हजारसम्म कफीका बोटहरू रहेका अर्यालले जानकारी दिए । चार वर्षअघि रोपेका बोटहरूले फल दिन सुरु गरेपछि कृषक पनि उत्साहित बनेका छन् । सिर्सेनीमा सबैभन्दा बढी कफी खेती गर्ने कृषकका रूपमा अर्याल चिनिन्छन् ।
दश रोपनी जग्गामा यति बेला दुई हजार बढी बोट रहेका कृषक अर्यालले जानकारी दिए । “चाँडै हुर्किएका बोटहरूबाट कफी पाक्न थालेको छ । विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले कफीले ढपक्क ढाकेको छ”, उनले भने । उनी जस्तै व्यावसायिक कफी खेती सुरु गरेका शशीधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले खेतीले आशा जगाएको बताए ।



