आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

images
  • 119
    SHARES
  • पौष २२, २०८१ सोमबार
    आलुमा आत्मनिर्भर बन्दै नवलपरासी
    images

    नवलपरासी ।

    (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान आलुखेतीतर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो । 

    जिल्लामा यस वर्ष तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।  

    'गत वर्ष तीन हजार दुई सय पाँच हेक्टरमा आलुखेती भएकोमा यो वर्ष ११ हेक्टर जमिनमा थप विस्तार भएको हो,' उनले भने, 'गतवर्ष जिल्लामा ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको थियो ।'

    जिल्लामा बर्सेनि आलु उत्पादन हुने क्षेत्र र उत्पादन बढ्दै गएपछि आलुमा आत्मनिर्भर बनेको उनले बताए । 

    जिल्लामा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा देखिएको छ । 'आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ,' उनले भने, 'यो वर्ष पनि समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ ।' 

    यस वर्ष जिल्लामा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको समुदायस्तरमा प्रशोधन आलु प्रवद्र्धन कार्यक्रममार्फत ११ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको कृषि ज्ञान केन्द्र नवपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए । क्षेत्रफलसँगै यस वर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ । कृषि ज्ञान केन्द्रसँगै स्थानीय तहले आलुखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलुखेती विस्तार हुँदै गएको हो ।  

    'जिल्लामा आलुखेती गर्ने किसानलाई थप प्रोत्साहन गरी उत्पादन बढाउने उद्देश्यले कृषि ज्ञान केन्द्रमार्फत मध्यविन्दु र कावासोती नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा समुदायस्तरमा प्रशोधन आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ,' उनले भने, 'कृषि ज्ञान केन्द्रले किसान समूहमा आलुखेती प्रवद्र्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।'

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend