चितवन । चितवनमा स्वरूप परिवर्तन गरेर चलाइएका ६३ वटा मोटरसाइकल कारवाहीमा परेका छन्। मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र चर्को आवाज निकाली तीव्र गतिमा चलाएका मोटरसाइकल चालकलाई कारवाही गरिएको हो। समाजमा मोटरसाइकलकै माध्यमबाट ध्वनी प्रदूषण फैलाएको भन्दै ती मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिए।
ट्राफिक प्रहरीले विभिन्न समय र स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लियएको उनले बताए। स्वरुप परिवर्तनअन्तर्गत साइलेन्सर, ह्यान्डल, सिटलगायतका सामान कम्पनीको वा सवारी दर्ता किताबभन्दा फरक राखी चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको उनले बताए। उनका अनुसार यस्ता मोटरसाइकल आइतबार मात्रै ३० वटा नियन्त्रणमा लिइएको थियो।
ट्राफिक प्रहरीका अनुसार सामान्यतया ६० डेसिबलसम्मको आवाजलाई सामान्य मान्ने भए पनि स्वरूप परिवर्तन गरेका मोटरसाइकलले १२० देखि १९० डेसिबलसम्मको आवाज निकाल्ने गरेको पाइएको छ। नियन्त्रणमा लिइएका मोटरसाइकल चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ बमोजिमको कसुरमा दफा १६० बमोजिम रु एक हजारदेखि पाँच हजारसम्म जरिवाना र बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था गर्न बनेको ऐन २०७५ को दफा ४३ बमोजिमको कसुरमा दफा १९४ बमोजिम रु सात हजारदेखि रु १५ हजारसम्म जरिवाना हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको मोटरसाइकललाई पूर्ववत् अवस्थामा फर्काएर जरिवाना तिराएपछि मात्रै छाडिने उनले बताए।



