नारायणगढ ।
नारायणगढ जेसिजको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आइतबार साँझ पुलचोकस्थित जेसिज भवनमा वर्ष २०२५ को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
प्रतिनिधि सभा सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नारायणगढ जेसिज वर्ष २०२४ का अध्यक्ष राजेन्द्र भट्टराईले वर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष रविन्द्र कुमार श्रेष्ठलाई पद हास्तान्तरण गरेका हुन् । वर्ष २०२५ को अध्यक्षको पदभार ग्रहण गर्दै श्रेष्ठले कार्यदक्षता र क्षमताले सम्भव भएसम्म आफ्नो कार्यकाललाई सफल बनाउने बताए ।
कार्यक्रमका प्रमुख अतिथि सांसद भण्डारीले जेसिजका गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । जेसिजले युवा लक्षित विभिन्न कार्यक्रमहरु ल्याएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न प्रयास गरिरहेको पनि उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै वर्ष २०२४ का अध्यक्ष राजेन्द्र भट्टराईले आफ्नो कार्यक्रलमा युवा लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । सोही अवसरमा भट्टराईले आफ्नो कार्यकाल सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई विभिन्न विधामा अवार्ड समेत वितरण गरे ।
पुष ८, ९ र १० गते सम्पन्न नारायणगढ जेसीजको ४७ औँ शाखा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यकारी उपाध्यक्षमा विपिन कंडेल र सुवास कंडेल, उपाध्यक्षमा प्रदीप पौडेल, विनोद अधिकारी, कमल बस्याल र सन्जिव पौडेल, निर्देशकमा सुशील सापकोटा, अश्विन पौडेल, सौगात देवकोटा र सुरज पण्डित चयन भएका थिए ।
यसैबीच पदभार ग्रहणसँगै अध्यक्ष श्रेष्ठले कार्यसमितिका विभिन्न पदमा मनोनित गरेका छन् । जस अनुसार श्रेष्ठले सह कोषाध्यक्षमा बिनिशमान शाक्य, सह सचिवमा रुबल श्रेष्ठ, कोषाध्यक्षमा रामबाबु पुडासैनी, महासचिवमा कपिल श्रेष्ठ तथा कानुनी सल्लाहकारमा सन्तोष पण्डितलाई मनोनित गरेकाे हाे ।



