गाजामा लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम तीन घण्टा ढिलो गरी शुरू भएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच १५ महिनाको युद्धपछि आजदेखि युद्धविराम शुरू भएको हो ।
हमासले पहिलो चरणमा रिहा गर्ने तीन जना इजरायली महिला बन्धकको नाम सार्वजनिक गरेपछि गाजामा युद्धविराम शुरू भएको हो । हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीको नाम सार्वजनिक गरेको हो ।
गाजा युद्धविराम स्थानीय समयानुसार बिहान ८ बजेर ३० मिनेटमा कार्यान्वयनमा आउने भनिएको थियो । तर हमासले रिहा हुने बन्धकको सूची सार्वजनिक गर्न ढिला गरेको भन्दै इजरायली प्रधानमन्त्रीको कार्यालयले स्थानीय समयानुसार ११ बजेर १५ मिनेटदेखि युद्धविराम सम्झौता कार्यान्वयनमा आएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
यसैबीच इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई जना अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् ।
यस्तै युद्धविराम शुरू हुन ढिलाइ हुँदा इजरायली आक्रमणमा कम्तीमा १९ जनाकाे ज्यान गएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्स एजेन्सीले जनाएकाे छ ।



