नारायणगढ ।
उद्योग वाणिज्य संघ–चितवनले २०५३ सालदेखि चितवन महोत्सवको थालनी ग¥यो । त्यसैको निरन्तरतास्वरुप यसवर्ष महोत्सवको १५औँ संस्करण चलिरहेको छ । स्थानीय उत्पादन तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यसहित सुरू गरिएको चितवन महोत्सव अहिले देशकै नमुना महोत्सवको रुपमा स्थापित छ । महोत्सवले चितवनबाट कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका विकासमा समेत योगदान दिँदै आएको छ ।
महोत्सव सञ्चालनको अर्को मह¤वपूर्ण पाटो भनेको सांस्कृतिक कार्यक्रम पनि हो । महोत्सव अवधिभर मनोरञ्जनका लागि हरेक दिन सांस्कृतिक कार्यक्रम हुने गर्दछ । सांस्कृतिक कार्यक्रमका लागि चितवन महोत्सव मूल आयोजक समितिले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) चितवनसँग समन्वय गर्दै आइरहेको छ ।
यसवर्ष पनि नेफिनसँगकै सहकार्यमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष एवं महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए । ‘महोत्सवमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने नै आदिवासी जनजाति महासंघबाट हो’, उनले भने, ‘त्यसमा पनि चितवनजस्तो आदिवासी जनजाति समुदायको राम्रो बसोवास भएको ठाउँमा आदिवासी जनजाति छाडेर महोत्सव गर्ने कुरा सोच्नै सकिँदैन ।’
चितवन जिल्ला बसोवासका हिसाबले पनि देशभरका अधिकांश जातजातिको बसोवास भएको जिल्ला भएको भन्दै उनी थप्छन्, ‘हामीले महोत्सवलाई पनि सबै जातजातिको साझा फूलबारी बनाउने प्रयास गरेका छौँ ।’ उनका अनुसार सबै जातजातिले आआफ्नो समुदायको पहिचान झल्किने गरी सांस्कृतिक प्रस्तुति दिँदै आएका छन् ।
मञ्चमा मात्र नभई उद्घाटनको समयमा शोभायात्रामा समेत आदिवासी जनजाति समुदायको उपस्थितिले विशेष मह¤व राख्ने गरेको उनले सुनाए । ‘शोभायात्रामा पनि आदिवासी जनजातिलाई नसमेट्ने हो भने कार्यक्रम नै फितलो हुन्छ’, उनी भन्छन्, ‘संस्कृतिमा धनी समुदाय भएको हुँदा चितवन महोत्सवमात्रै नभई अन्य मेला–महोत्सवमा पनि आदिवासी जनजाति समुदायको भूमिकाले विशेष अर्थ राख्दछ ।’
चितवन महोत्सवको मञ्चलाई विशुद्ध नेपाली सांस्कृतिक मञ्चको रुपमा विकास गर्नका लागि नेपाली गीत–संगीतलाई मात्रै स्थान दिँदै आएको उनले बताए । ‘महोत्सवको मुख्य उद्देश्यभित्र कला–संस्कृति संरक्षण पनि पर्छ । त्यसैले हामीले हाम्रो नेपाली कला–संस्कृतिलाई बिर्सन हुँदैन’, उनले भने, ‘महोत्सवको मञ्चमा सहभागी हुने समूहलाई पनि हामीले अडिसनमार्फत स्थान दिँदै आएका छौँ ।’
नेफिन चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार २०७८ को जनगणना हेर्ने हो भने करिब तीन लाख ३२ हजारभन्दा बढी जनसङ्ख्या आदिवासी जनजातिको छ । समुदायगतरुपमा हेर्ने हो भने करिब ४० जनजाति समुदायले चितवनलाई बसोवासको मुख्य थलो बनाएका देखिन्छन् । तर, आदिवासी जनजाति महासंघमा भने हालसम्म १७ जातजाति आबद्ध रहेका उनले बताए ।
संस्थागतरुपमा ती सबै जातजातिलाई चितवन महोत्सवमा सहभागी गराउने प्रयास गरिएको चितवन महोत्सव सांस्कृतिक कार्यक्रम उपसंयोजक ईश्वर रानामगरले जानकारी दिए । ‘मञ्चमा हुने कार्यक्रममा करिब ८० प्रतिशत त आदिवासी जनजातिको कुनै न कुनै पक्षसँग जोडिएको विषय आउने गरेका छन्’, उनले भने, ‘हामीले आदिवासी जनजाति महासंघमातहतका सबै जातीय संघसंस्थाहरुलाई पनि आफ्नो जातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति लिएर आउन आग्रह गरिरहेका छौँ ।’
आदिवासी जनजातिको बसाइँसराइसँगै ओझेलमा पर्न थालेका संस्कृतिलाई लोप हुन नदिनका लागि पनि मौलिक संस्कृतिलाई मञ्चको माध्यमबाट प्रदर्शन गर्ने प्रयास गरिएको उनले बताए । ‘सालैजो, कौडा, ठाडोभाका, झ्याउरे, मारूनी, घाटुजस्ता पहाडी क्षेत्रमा चल्ने पुराना मौलिक लोकसंस्कृतिदेखि तराई क्षेत्रमा थारु समुदायले नाच्ने डम्फु नाच, लाठी नाचजस्ता विषयले मञ्चमा स्थान पाएको छ’, उनले भने, ‘मेला–महोत्सवमा धेरै थरीका मानिसहरुको जमघट हुने भएकोले पनि आदिवासी जनजातिको संस्कृतिलाई प्रचारप्रसार गर्न सघाउ पुगेको छ ।’
चितवनको पुरानो सांस्कृतिक धरोहरको पहिचान बनाएको नारायणी कला मन्दिरले पनि महोत्सवमा विभिन्न खालका नृत्य प्रस्तुत गर्दै आएको छ । कला मन्दिरले दिने प्रस्तुतिमा पनि गीत, पोसाक तथा नृत्यले आदिवासी जनजाति समुदायकै प्रतिनिधित्व गर्दै आएको मगरले बताए । ‘सर्सर्ती हेर्दा चितवन महोत्सवको मञ्चबाट आदिवासी जनजाति समुदाय संस्कृतिमा कति धनी छन् भन्ने कुरा प्रस्ट पारेको छ’, उनले भने, ‘उद्योग वाणिज्य संघ–चितवनले महोत्सव आयोजना गर्दा सिराइचुलीको काखमा बस्ने चेपाङदेखि मेघौलीको नारायणी नदीकिनारमा बस्ने थारु, बोटे समुदाय सबैलाई न्याय मिलेको छ ।’
भेषभूषा प्रदर्शनी आज
जारी चितवन महोत्सवको मञ्चमा आज मङ्गलबार आदिवासी जनजाति समुदायको भेषभूषा प्रदर्शनी हुँदैछ । महोत्सवको सांस्कृतिक कार्यक्रमका सहसंयोजक ईश्वर रानामगरका अनुसार प्रदर्शनीमा विभिन्न ९ जनजाति समुदायले भाग लिनेछन् । थारु कल्याणकारिणी सभा (थाकस) चितवन, नेपाल तामाङ घेदुङ चितवन, नेपाल मगर संघ चितवन, दुरा सेवा सुधार समिति चितवन, नेपाल दराई उत्थान समाज चितवन, किराँत यायोक्खा चितवन, किराँच याक्थुङ चुम्लुङ चितवन र नेपाल बोटे समाज चितवनले प्रदर्शनीमा भाग लिनेछन् ।
आदिवासी जनजाति महासंघमा आबद्ध १७ वटै जातजातिलाई समेट्ने प्रयास गरे पनि यसपटक जम्मा ९ जातजातिले भेषभूषा प्रदर्शनी गर्ने उनले बताए । चेपाङ समुदायलाई सांस्कृतिक कार्यक्रममा सहभागी गराउन सफल भए पनि भेषभूषा प्रदर्शनीमा सहभागी गराउन नसकिएको उनले बताए । भेषभूषा प्रदर्शनीबाट आफ्नो जातिको पहिचानमा टेवा पुग्ने हुँदा यस्ता कार्यक्रममा आदिवासी जनजाति समुदायले आफैँ अग्रसर भएर लाग्नुपर्ने उनको भनाइ छ । उनका अनुसार भेषभूषा प्रदर्शनीका लागि कोरियोग्राफर पुष्प श्रेष्ठ र विक्रम श्रेष्ठले प्रशिक्षण दिएका छन् ।



