तनहुँ । माघे कृष्ण औंसीको अवसरमा यसवर्ष देवघाटधाममा दश लाख भक्तजनको उपस्थिति रहेको देवघाट गाउँपालिकाले अनुमान लगाएको छ। कुशे औंसीको अवसरमा देवघाटधाममा भक्तजनको सङ्ख्या हालसम्मकै उच्च रहेको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए।
देशकै पत्रिव धार्मिक तीर्थस्थल भएको हुँदा कृष्ण औंसीको अवसरमा देवघाटमा स्नान गर्न आउने गर्दछन्। यसवर्ष देवघाटधाममा माघ १ गतेदेखि लागेको महामहोत्सवले पनि भक्तजनको सङ्ख्या बढी भएको उनले बताए। ‘त्रिशूली र कालीको संगमस्थलमा पितृलाई तर्पण दिनको लागि पनि भक्तजन आउने हुँदा भीड बढी भएको हो,’ गाउँपालिकाका अध्यक्ष मगरले भने, ‘माघे सङ्क्रान्तिको दिनभन्दा तेब्बर भक्तजनले देवघाटको अवलोकन गरेका छन्।’

नेपालको चितवन र आसपासका जिल्लासहित काठमाडौं, पोखरा, गोरखा, लम्जुङ, धादिङ, सिन्धुपाल्चोक, रूपन्देही, स्याङ्जा, मकवानपुर, झापालगायतका क्षेत्रबाट भक्तजन आएका थिए। त्यसबाहेक भारतको विहारसहित विभिन्न प्रान्तबाट भक्तजनहरु देवघाट आएका थिए।
बुधबार बिहान ३ बजेदेखि लागेको भीड दिनभर जारी रह्यो। भीड बढी हुँदा स्थानीय प्रशासनलाई व्यवस्थापन गर्न निकै समस्या परेको थियो। मानिसहरुको भीड नै बढी भएपछि सवारीसाधनको उचित व्यवस्थापन र पार्किङ गर्नसमेत समस्या परेको थियो।
भीड व्यवस्थापन र उचित पार्किङको व्यवस्थापन गर्न नसक्दा स्थानीय प्रशासनसँग स्थानीयले गुनासो गरेका छन्। ‘यस्तो बेलामा सम्बन्धित निकाय जिम्मेवार नहुँदा टाढाटाढाबाट आउनुभएका भक्तजनहरुले सास्ती व्यहोर्नु परेको छ,’ स्थानीय रोशनदेव आचार्यले भने, ‘आगामी वर्षहरुमा यहाँको वस्तुस्थितिबारे पूर्वतयारी गरेर काम गर्नुपर्ने देखिन्छ।’ किनकि देवघाटधाममा वर्षभरी नै विभिन्न मेला महोत्सव र चाडपर्वमा धार्मिक पर्यटकहरुको आगमन भइरहने हुँदा हरेक समय स्थानीय प्रशासन बढी जिम्मेवार बन्नुपर्ने उनको बुझाइ छ।

स्थानीय तहले एकतर्फी बाटोको व्यवस्थापन गरेको भए भीड व्यवस्थापनमा सहज हुने तीर्थालु कृष्णबहादुर कार्कीले बताए। काठमाडौंबाट स्नान गर्न देवघाट आएका उनले भने, ‘साँघुरो बाटोमा जाने–आउने एकै ठाउँमा गरिदिँदा त्यसले पनि सवारी आवागमनमा समस्या भएको हो। एउटा बाटोबाट जाने र अर्कोबाट आउने व्यवस्था मिलाइदिएको भए यस्तो समस्या पर्ने थिएन।’
वेणी संगममा पुग्न र फर्किनको लागि डुङ्गामा समेत जोखिम रहेको उनले बताए। भक्तजनको सङ्ख्या नै बढी भएपछि डुङ्गाको यात्रासमेत असुरक्षित भएको उनको भनाइ छ। आगामी दिनमा भक्तजनको जीवन रक्षाबारे पनि स्थानीय प्रशासनले ध्यान दिनुपर्ने उनले सुझाव दिए।
तर देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले भने व्यवस्थापन राम्रो गरेको दाबी गरेका छन्। मेला व्यवस्थापनको लागि जेसिज देवघाटधामले आकस्मिकरुपमा ३० जना स्वयम् सेवक खटाएको जेसिज देवघाटधामका अध्यक्ष प्रशन्न ढकालले जानकारी दिए।




