भरतपुर महानगरपालिकाले माघ २२ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन गरिने

images
  • 197
    SHARES
  • माघ २०, २०८१ आइतबार
    भरतपुर महानगरपालिकाले माघ २२ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन गरिने
    images

    चितवन, माघ २०

    भरतपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप दिइने आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

    यो अभियान माघ २२ देखि फागुन २ गतेसम्म हुनेछ । यस्तै सोहि अवधिमा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए । उनका अनुसार भरतपुरमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो । यो खोप सुरक्षित र प्रभावकारी समेत भएको उनले बताए ।

    ‘हाल चीनमा तयार गरिएको सिकोलिन नाम एचपिभि खोप देशभरी नै लगाउन लागिएको छ’, उनले भने ‘यो खोप एकदमै सुरक्षित तथा प्रभावकारी छ ।’ यस खोप एक डोज लगाए पुग्ने उनले बताए । झोलमा उपलब्ध हुने यस खोप पाखुराको माथिल्लो भागमा लगाइने छ ।

    अभियान सफल कार्यान्वयनका लागि महानगरले यहाँका सबै विद्यालय र विद्यालयमा सकिएपछि अन्तिम दिनमा सम्बन्धित वडाका स्वास्थ्य संस्थामा खोप केन्द्र सञ्चालन गरिनेछ । १९३ वटा खोप केन्द्र रहने अभियानमा २०१ जना स्वास्थ्यकर्मी तथा ४०२ जना स्वयंसेवक परिचालित हुने बताए ।

    यो अवधिमा विद्यालय भित्रका १६ हजार १६९ र विद्यालय बाहिरका ४२३ जनागरी १६ हजार ४९२ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । तर चितवनमा यसभन्दा अगाडि पनि खोप लगाइएकाले यो संख्यामा घट्ने सुवेदीको अनुमान छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ । त्यसैले सानो उमेरमा भ्याक्सिन लगाउने हो भने पाठेघरको क्यान्सर कम गर्न सकिने विश्वास सरकारको छ । चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । यो उमेर बालिका यौनजन्य क्रियाकलापमा सक्रिय नहुने भएकाले भ्याक्सिन लगाउन बढी प्रभावकारी हुने भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend