ढोरपाटन, माघ २१
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रीत भएर लागेको बताउनुभएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उहाँले संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
मुलुकमा राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले हाल स्थायी प्रकृतिको सरकार बनेपछि लामो समयदेखि रोकिएका काम अगाडि बढेका बताउनुभयो ।
“सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि पछिल्लो समय देशभर आशा जगाउने गरी काम अगाडि बढिरहेका छन् । मेरो नेतृत्वको सहरी विकास मन्त्रालयले पनि देशभर सुरक्षित र व्यवस्थित सहर बनाउने गरी काम गरिरहेको छ । यस कारण जसले जे भने पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म अगाडिठ बढ्छ”, उहाँले भन्नुभयो ।



