चितवन,
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ मिलनचोककी रामयाया सोती माघ २४ गते घाँस काट्न घरबाट निस्किन् । चार जना साथीसँग घर नजिकैको दिव्य मध्यवर्ती सामुदायिक वनमा पसेकी सोती घाँस लिएर घर फर्किन पाइनन् । ४७ वर्षीया सोतीको गैँडाको आक्रमणबाट घटना स्थलमै मृत्यु भयो । उनीसँगै गएका एक जनालाई आक्रमण गरी घाइते बनाएको थियो भने अन्य दुई जना भाग्न सफल भए ।
सोती जस्तै चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या डरलाग्दो छ । पछिल्लो साढे चार वर्षको अवधिमा यस क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ७० जनाको मृत्यु भएको छ । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १ सय ४१ जना घाइते भएका छन् । वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र न्यूरो टिप्न गएका व्यक्ति रहेका छन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाई लगायतको वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७७/२०७८ यता सबैभन्दा धेरै बाघको आक्रमणबाट मानिसहरूले ज्यान गुमाएका छन् । यो अवधिमा ३६ जनाको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै गैँडाको आक्रमणबाट १९, हात्तीको आक्रमणबाट १०, मगरगोही र जङ्गली बँदेलको आक्रमणबाट समान २र२ र गौरी गाईको आक्रमणबाट १ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले जानकारी दिए ।
उनका अनुसार पछिल्लो साढे चार वर्षको अवधिमा आर्थिक वर्ष २०७८/२०७९मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो । त्यस्तै गैँडाको आक्रमणबाट ५ र हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु भएका थियो । सो वर्ष २४ जना घाइते भएका थिए ।
अन्य आर्थिक वर्षमा भने वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या औसतमा १० रहेको छ । चालु आर्थिक वर्षको माघ २८ गतेसम्म वन्यजन्तुको आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । यस वर्ष गैँडाको आक्रमणबाट ६ जना र हात्ती बाघको आक्रमणबाट समान १र१ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०८०/२०८१मा हात्ती, गैँडा बाघ र जङ्गली बँदेलको आक्रमणबाट ११, आर्थिक वर्ष २०७९/२०८०मा ९ र आर्थिक वर्ष २०७७/२०७८मा १२ जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।



