चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ७० जनाको मृत्यु

images
  • 156
    SHARES
  • माघ ३०, २०८१ बुधबार
    चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ७० जनाको मृत्यु
    images

    चितवन, माघ २९

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ मिलनचोककी रामयाया सोती माघ २४ गते घाँस काट्न घरबाट निस्किन् ।

    चार जना साथीसँग घर नजिकैको दिव्य मध्यवर्ती सामुदायिक वनमा पसेकी सोती घाँस लिएर घर फर्किन पाइनन् । ४७ वर्षीया सोतीको गैँडाको आक्रमणबाट घटना स्थलमै मृत्यु भयो । उनीसँगै गएका एक जनालाई आक्रमण गरी घाइते बनाएको थियो भने अन्य दुई जना भाग्न सफल भए ।

    सोती जस्तै चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या डरलाग्दो छ । पछिल्लो साढे चार वर्षको अवधिमा यस क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ७० जनाको मृत्यु भएको छ । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १ सय ४१ जना घाइते भएका छन् ।
     
    वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र न्यूरो टिप्न गएका व्यक्ति रहेका छन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाई लगायतको वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

    आर्थिक वर्ष २०७७/२०७८ यता सबैभन्दा धेरै बाघको आक्रमणबाट मानिसहरूले ज्यान गुमाएका छन् । यो अवधिमा ३६ जनाको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै गैँडाको आक्रमणबाट १९, हात्तीको आक्रमणबाट १०, मगरगोही र जङ्गली बँदेलको आक्रमणबाट समान २र२ र गौरी गाईको आक्रमणबाट १ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरले जानकारी दिए ।

    उनका अनुसार पछिल्लो साढे चार वर्षको अवधिमा आर्थिक वर्ष २०७८/२०७९मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो । त्यस्तै गैँडाको आक्रमणबाट ५ र हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु भएका थियो । सो वर्ष २४ जना घाइते भएका थिए ।

    अन्य आर्थिक वर्षमा भने वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या औसतमा १० रहेको छ । चालु आर्थिक वर्षको माघ २८ गतेसम्म वन्यजन्तुको आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । यस वर्ष गैँडाको आक्रमणबाट ६ जना र हात्ती बाघको आक्रमणबाट समान १र१ जनाको मृत्यु भएको छ ।

    आर्थिक वर्ष २०८०/२०८१मा हात्ती, गैँडा बाघ र जङ्गली बँदेलको आक्रमणबाट ११, आर्थिक वर्ष २०७९/२०८०मा ९ र आर्थिक वर्ष २०७७/२०७८मा १२ जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

    मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँस दाउरा गर्न छिर्ने गर्दछन् । सोही क्रममा अधिकांश मानिसहरू वन्यजन्तुको आक्रमणमा परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताउँछन् ।

    ‘यस्ता घटनाहरू चितवनमा नियमित जस्तै हुन थालेका छन् । यसलाई न्यूनीकरण गर्न वन्यजन्तुलाई जङ्गलभित्र घाँसको व्यवस्थापन गर्नुप¥यो । भित्रका वन्यजन्तु बाहिर आउनबाट रोक्न कंक्रिट लगाउनुपर्दछ,’ अध्यक्ष ढुङ्गानाले भने ‘मानिसहरूलाई अनावश्यक रुपमा भित्र प्रवेश गर्नबाट रोक्न प¥यो । उनीहरुलाई वन्यजन्तुको आनिवानीको विषयमा जानकारी गराउनुपर्दछ ।’

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend