काठमाण्डौ –
अघिल्ला दुईवटा हिउँद सुक्खा भएकोमा यस वर्ष त्योभन्दा बढी सुक्खा हुने जोखिम बढेको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ ।
यो वर्षको हिउँद सकिन १६ दिन मात्र बाँकी रहँदा औसत ९ दशमलव ५ प्रतिशत मात्रै पानी परेको जलवायु विपदविज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो ।
उज्यालोसँगको कुराकानीमा उहाँले यसपालीको हिउँदमा पानी पार्ने केही प्रणाली भित्रिए पनि मध्य नेपाल पार गरेर पूर्वतर्फ जानै नसकेको र पोखरालगायत गण्डकी प्रदेशमै कम पानी परेको जानकारी दिनुभयो ।
अबको १५ दिनपछि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना भए पनि पश्चिममै सीमित हुने जलवायु विपदविज्ञ डा.उप्रेतीको भनाइ छ । उहाँका अनुसार सामान्यतया २५ प्रतिशत भन्दा कम पानी पर्नुलाई चरम सुक्खा भनिन्छ ।
यसवर्ष १० प्रतिशत पानी पनि परेको छैन । हिउँद सुक्खा हुँदा डढेलोका घटना बढिसकेका छन् । कृषीबालीमा समस्या आइसकेको छ ।
प्रदुषण बढेकाले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ । नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन ।
पछिल्ला केही वर्ष यता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने श्रोतमा आएको सुक्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।
जलवायु परिवर्तनको असरले गर्दा केही वर्षदेखि हिउँदयाम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको जलवायु विपदविज्ञ डा.धर्मराज उप्रेती बताउनुहुन्छ ।
उहाँका अनुसार सीमित श्रोत साधन भएको र कमजोर आर्थिक अवस्थामा नेपालले यस्तो अवस्थाको सामना गर्नु चुनौतीपूर्ण छ । तर यो चुनौतीविरूद्ध लड्न सरकारी तथा गैरसरकारी निकाय र नागरिक तहबाट पनि सबैको साझेदारी आवश्यक रहेको उहाँले बताउनुभयो ।



