नवलपुर ।
मागअनुसारको रगत सङ्कलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ । नवलपुरको कावासोती र आसपासका अस्पतालहरुले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्तसञ्चार केन्द्र कावासोतीमा सङ्कलन भएको रगत नवलपुरमै पु¥याउन गाह्रो भएको नेपाल रेडक्रस कावासोतीका अध्यक्ष बाबुराम कँडेलले बताए ।
कँडेलले भने, ‘अस्पतालमा बिरामीको चापका कारण रगतको माग बढेको छ, तर यही बेला दाताको संख्या घटेकाले रगतको माग धान्नै हम्मेहम्मे परेको छ ।’ रगत नपाएकै कारण कतिपय अवस्थामा बिरामीका आफन्त रगतको खोजीका लागि भौँतारिरहेको भेटिने गरेको उनले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोती नवलपुर रक्तसञ्चार सेवाले नवलपुर जिल्लामा सामान्यतया एक महिनामा एक सय ५० युनिट रगत खपत गर्ने गरेकोमा अहिले एक महिनामा तीन सयभन्दा बढी युनिट रगत खपत हुने गरेको हो ।
मागको अनुपातमा नवलपुरमा रगत सङ्कलन हुन नसकेको रेडक्रस कावासोती उपशाखा अध्यक्ष कँडेलले बताए ।
चितवनबाट समेत कावासोतीमा रगत पठाउनुपर्ने भएकोले मागअनुसार रगत पु¥याउनै गाह्रो भएको भन्दै जाडोको मौसममा रूघाखोकीलगायतका कारणले नियमित रक्तदाताहरुमा पनि कमी आएको उनले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कावासोतीले संस्थागत र व्यक्तिगतरुपमा पनि रक्तदान गर्न अनुरोध गरेको छ ।
मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले रगत अभावकै कारण अस्पतालमा शल्यक्रिया नै प्रभावित नभए पनि रगत अभाव भने देखिएको बताए । उनले भने, ‘अस्पतालको आफ्नै ब्लड बैंक छैन ।
रगत अभाव भएको थाहा हुन्न, यद्यपि बिरामीहरुले रगत नपाएकै कारण अस्पतालकै कर्मचारीहरुबाट रगत दिएर काम चलाउने गरेका छौँ ।’ अस्पतालभित्रकै नियमित रक्तदाता कर्मचारीहरुको सामाजिक सञ्जाल ग्रुप बनाएर शल्यक्रिया गर्ने बेलामा बिरामीको आफन्तले रगत नपाउँदा उक्त ग्रुपमा भनेर रगत अभाव हाललाई हल गर्ने गरेको डा. आचार्यले बताए ।



