काठमाडौँ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरूसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले हतार गरेकै कारण अहिले अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था नबनेको बताएका हुन् । संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरू फराकिलो छलफलमा रहेको नेता विश्वकर्माले बताए ।
‘प्रतिनिधि सभामा बहुमत रहेको, राष्ट्रिय सभामा बहुमत नरहेको, यो परिस्थितिमा सरकारले सोच्नुपर्थ्यो । सबैसँग सरसल्लाह गरेको भए त यो कुरा उठ्दै उठ्दैन थियो । त्यो बेलामा हतार गरेको कारणले गर्दा अहिले अध्यादेश जस्ताको तस्तै पारित गर्ने कुरामा चाहिँ सरकार फराकिलो छलफलमा छ अहिले,’– नेता विश्वकर्माले भने ।



