भरतपुर ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्दै आएको राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको आठौँ संस्करण चितवनमा हुने भएको छ। प्रतिष्ठानका केन्द्रीय अध्यक्षसहितका पदाधिकारीहरुको उपस्थितिमा प्रतियोगिताबारे शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
केन्द्रीय अध्यक्ष रीता थापामगरका अनुसार यही फागुन १७ देखि २० गतेसम्म भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवन परिसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा देशभरबाट छानिएर आएका २४ समूहलाई सहभागी गराउने प्रारम्भिक तयारी भइरहेको उनले बताइन्।
‘गत वर्ष धादिङको चरौँदीमा आयोजना गरिएको सातौँ संस्करणमा ६२ समूहलाई सहभागी गराएका थियौँ। त्यसरी एकै पटक सहभागी गराउँदा व्यवस्थापनमा चुनौती हुँदो रहेछ,’ उनले भनिन्, ‘त्यसकारण यसपटक चाहिँ सातै प्रदेशमा प्रतियोगिता आयोजना गरेर त्यसबाट छानिएका समूहमात्रै चितवन आइपुग्ने व्यवस्था मिलाउँदैछौँ। यसो गर्दा व्यवस्थापनमा थोरै भए पनि सहज हुने अपेक्षा छ।’
चितवन आएर प्रतियोगिता जित्ने समूहले नगद तीन लाख राशिको पुरस्कार जित्नेछ। द्वतीय हुने समूहले दुई लाख, तृतीय हुने समूहले एक लाख र सान्त्वना स्थान हासिल गर्ने समूहले ५० हजार रूपैयाँ राशिको पुरस्कार पाउने छन्। प्रतियोगीमध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक र उत्कृष्ट नवगायिकालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन्।
चितवनलाई पूर्वेली र पश्चिमेली लोक भाकाहरुको संगमस्थल मानिएको हुँदा यसपटकको प्रतियोगिता यहीँ आयोजना गर्ने तयारी गरिएको प्रतिष्ठानका महासचिव शिव हमालले जानकारी दिए। प्रतियोगितामा नयाँ तथा पुराना सबै कलाकारले सहभागिता जनाउन सक्ने व्यवस्था रहेको उनले बताए। यसअघि नै रनिङ शिल्ड जितिसकेको समूह र व्यक्तिबाहेक जोकसैले सहभागी हुन पाउने प्रतिष्ठानले जनाएको छ।
प्रतियोगितामा विशुद्ध नेपाली भाषा, मौलिक भाषा र मौलिक विषयले मात्रै स्थान पाउने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले जानकारी दिए। ‘यो प्रतियोगिता भनेको प्रतिभाको खोजी पनि हो,’ उनले भने, ‘त्यसैले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्दै आएको सबैभन्दा ठूलो र एकमात्र आधिकारिक कार्यक्रम हो यो।’
प्रतिष्ठानको बागमती प्रदेश समिति सहआयोजक रहने प्रतियोगिताको व्यवस्थापन भने प्रतिष्ठानको जिल्ला शाखा चितवनले गर्नेछ।
प्रतिष्ठानमा चन्द्र शर्मा अध्यक्ष हुँदा २०७० सालबाट प्रतियोगिताको सुरूवात गरिएको उनले बताए। वि.सं.२०५८ सालमा स्थापना भएको प्रतिष्ठानमा हाल ३४ हजार साधारण सदस्य र तीन हजार तीन सय जना आजीवन सदस्य आवद्ध रहेका प्रतिष्ठानले जनाएको छ। पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर ‘विरही’ गुरूङ, पूर्वअध्यक्ष बद्री पंगेनी, उपाध्यक्ष दीपक खड्कालगायत उपस्थित थिए।



