गजल मञ्चको 'गजलमा प्रणय'

images
  • 179
    SHARES
  • फाल्गुण ३, २०८१ शनिबार
    गजल मञ्चको 'गजलमा प्रणय'
    images

    भरतपुर, ३ फागुन ।


    फेब्रुअरी १४ अर्थात फागुन २ गते प्रणय दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् । भरतपुरमा भने गजलवाचन कार्यक्रम गरिएको छ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसर पारेर गजल मञ्च चितवनले शनिबार गजल वाचन कार्यक्रम गरेको हो ।

    भरतपुरको बाइपास रोडस्थित आरम्भ कलेजमा गरिएको `गजलमा प्रणय´ कार्यक्रममा चितवन, नवलपरासी, तनहुँ र मकवानपुरका स्रस्टाले गजल वाचन गरेका थिए । कार्यक्रम गरिएको हल खचाखच भरिभराउ थियो । देवघाटधाम, तनहुँका एसआर दुवाडीले गजलमार्फत प्रेमको स्पर्शलाई यसरी प्रस्तुत गरे :

    तिमीलाई नजिक देख्दा छुट्यो पसिना भएँ घायल
    तिमी झन् मुस्कुराएछौ , जुधे आँखा भएँ घायल ।।

    त्यसैगरी मकवानपुरबाट आएका सागर तिमिल्सिनाले पनि कार्यक्रममा केही सेर गुनगुनाए । उनले गजलका प्रेमिल भाव यसरी सुनाए :

    आगो बनेर, पानी बनेर
    नजरमा कसैको, निशानी बनेर

    बस्दछु लेख्न, जब प्रेम कथा
    आउँछौ तिमी नै कहानी बनेर ।।

    कार्यक्रममा सरला जोशीले पनि प्रेमिल भावलाई गजलमार्फत यसरी प्रस्तुत गरिन् ।

    हो नमाग्नु म सँग मायाको लगानी सकियो
    किन लाग्छ प्यार बिना यो जिन्दगानी सकियो ।।

    भन्न त भन्थ्यौ मुटुमै छौ तिमी फर्की आउँछु
    तिमीलाई कुर्दाकुर्दै मेरो जवानी सकियो ।।

    कार्यक्रममा यमुना न्यौपाने, तीर्थराज खनाल, रुबिन पौडेल, लीला दाहाल अधिकारी, रिवाज अर्याल, विकास बराल, सुरेन्द्र अस्तफल, विद्या भण्डारी चिराग, डिबि बर्तौला, विष्णु तिवारी उषा, रामलाल कुमाल, सुवास सजल, सरगम पारु, मसान उपासक, गौरी कँडेल, भानु सापकोटा, सुमन कडरीया, प्रविण काफ्ले र हरि चालिसे एबीसीले गजल सुनाए ।

    त्यसैगरी अतिरिक्त वाचनमा ध्रुव सञ्ज्याल, प्रेमप्रसाद कँडेल, बालकृष्ण पौडेल र सुजन अनिमेषले गजल वाचन गरेका थिए । गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले गजल वाचन गरेका सबै स्रस्टालाई पारिश्रमिकसहित मायाको चिनोको रूपमा स्थानीय स्रस्टाका गजल कृति दिइएको बताए ।

    सार्वजनिक गजल वाचन कार्यक्रममा वाचकलाई पारिश्रमिक दिइएको यो नै पहिलो रेकर्ड हुनसक्ने गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले दावी गरे । अन्य स्रस्टालाई पनि सुन्न र पढ्न प्रेरित गर्ने उद्देश्यले गजल कृति उपहारस्वरूप दिइएको सापकोटाले बताए ।

    मञ्चका उपाध्यक्ष कमल अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव प्रमिला सानुले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा गजल सुन्न १०० बढी स्रोताको उपस्थित रहेको थियो । २०८१ सालमा चितवनमा गजलका कार्यक्रमहरू धेरै नै गरिएको र गजल प्रति सबैको अनुराग रहेको मञ्चका अध्यक्ष अनायासले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend