नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड, १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

images
  • 336
    SHARES
  • फाल्गुण ४, २०८१ आइतबार
    नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड, १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
    images

    भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये तीन जना बालबालिका छन्। 

    शनिबार राति भीडका कारण भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो । प्रयागराज जान हजारौं यात्रुले रेल कुरिरहेका बेला दुर्घटना भएको हो । 

    डीसीपी (रेलवे) केपीएस मल्होत्राले प्लेटफर्म नम्बर १२, १३ र १४ मा अस्वाभाविक भीड भएको बताउँदै स्थिति नियन्त्रणबाहिर गएको जानकारी दिए। दुर्घटना प्लेटफर्म नम्बर १३ र १४ मा भएको हो, जहाँ प्रयागराज जाने रेलहरू ढिलो भएका कारण हजारौँ यात्रु जम्मा भएका थिए।

    प्रयागराज स्पेशल ट्रेन आउने बेलामा अचानक भुवनेश्वर राजधानी एक्सप्रेस प्लेटफर्म १६ मा आइरहेको घोषणा गरियो । यसले गर्दा यात्रुहरू आत्तिएर भागे । जसले भागदौड मच्चायो।

    व्यवस्थापनको लापरबाहीका दुर्घटना हुन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लगातार दुई हप्तादेखि भीड बढिरहेको भएपनि रेलवेले कुनै नियन्त्रण कक्ष वा विशेष सुरक्षा व्यवस्था नगरेको बताइएको छ । 

    भागदौडको घटना राति करिब ९:५५ बजे भएको थियो। जब हजारौँ यात्रु प्रयागराज जाने रेल कुर्दै थिए। प्रहरी उपायुक्त (रेलवे)का अनुसार जब प्रयागराज एक्सप्रेस ट्रेन प्लेटफर्म नम्बर १४ मा उभिएको थियो, त्यहाँ ठूलो भीड जम्मा भइसकेको थियो।

    स्वतन्त्रता सेनानी एक्सप्रेस र भुवनेश्वर राजधानी एक्सप्रेस ढिलो भएका कारण यी ट्रेनका यात्रुहरू पनि प्लेटफर्म नम्बर १२, १३ र १४ मा जम्मा भएका थिए। रेलवेले प्रत्येक घण्टा १,५०० सामान्य टिकट बिक्री गरिरहेको थियो, जसका कारण स्टेशनमा भीड झन् बढ्दै गयो र स्थिति नियन्त्रणबाहिर पुग्यो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend