चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

images
  • 258
    SHARES
  • फाल्गुण १०, २०८१ शनिबार
    चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती
    images

    स्याङ्जा –

    चापाकोटमा सामुहिक आलुखेती फस्टाएको छ । चापाकोट नगरपालिकाको वडा नम्बर ८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकहरूले झन्डै चार सय रोपनीमा सामूहिक आलुखेती गरेका हुन् ।

    रत्नपुर साना किसान कृषि सहकारीका पूर्वअध्यक्ष जीवन डोटेलका अनुसार रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थामार्फत तीन सय २० रोपनी, रत्नपुर साना किसान सहकारी संस्थामार्फत ५० रोपनी र नवदृष्टि सहकारीमार्फत २० रोपनी गरी कूल तीन सय ९० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ ।

    चापाकोटमा उत्पादन हुने आलु चिप्स बनाउने कम्पनीसित सम्झौता भएकाले बजारीकरणका लागि कुनै समस्या नरहेको पूर्वअध्यक्ष डोटेलले बताउनुभयो । यस वर्ष झन्डै चार सय टन आलु उत्पादन हुने अनुमान उहाँको छ ।

    आलु कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र स्याङ्जाले आलुको बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । ज्ञान केन्द्रले बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै निःशुल्क कीटनाशक विषादी तथा प्राविधिक सहयोग, यन्त्र उपकरण तथा साना सिँचाइका लागि उपकरणमा ५० देखि ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

    यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनी क्षेत्रफलमा आलु खेती गरिएको छ । निर्वाहमुखी रूपमा हुँदै आएको आलु खेतीमा आधुनिकता र व्यावसायिकतामा जोड दिएसँगै कृषक आलु खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । गत वर्ष स्याङ्जामा एक हजार आठ सय ५० रोपनी क्षेत्रफलमा आलु खेती गरिएकोमा यस वर्ष पाँच सय ५० रोपनी क्षेत्रफलमा आलु खेती विस्तार गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend