पशुपतिमा महाशिवरात्रिको सबै तयारी पूरा

images
  • 300
    SHARES
  • फाल्गुण १३, २०८१ मंगलबार
    पशुपतिमा महाशिवरात्रिको सबै तयारी पूरा
    images

    काठमाण्डौ 

    भोलि महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ। महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    दर्शन गर्न आउने भक्तजनको सहजताका लागि १० वटा उपसमिति गठन भएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो । भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषले गएको वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेको हो ।

    कोषका अनुसार पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन/तीन र पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइन रहनेछ । भोलि बिहान २ बजेर ३० मिनेटदेखि पर्सि बिहान ६ बजेसम्म दर्शनका लागि ढोका खुला रहने पनि कोषले जनाएको छ । यस समयावधिमा पाँच लाखभन्दा बढीले प्रत्यक्ष दर्शन गर्ने कोषको अनुमान छ ।

    पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने ठाउँको सहज पहुँचको व्यवस्था मिलाइएको पनि कोषले जनाएको छ । यस्तै सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताउनुभयो ।

    महाशिवरात्रिमा छिमेकी देश भारतलगायत तेस्रो देशबाट समेत हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend